
काठमाडौं— आमाको मुख हेर्ने औंशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । यही ७ वैशाखमा वैशाख कृष्णपक्ष औंशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर काम गरिएको बताए ।
उनका अनुसार मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ ।
६ वैशाखको साँझ बत्ती बाल्ने र भोलिपल्ट औंशीका दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै सोही क्षेत्रमा मेला लाग्ने अध्यक्ष उदासले बताए ।
यसपटक मेला भर्न पाँच लाखभन्दा बढी व्यक्तिले मेला भर्ने आयोजकको अनुमान छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको संख्या समेत बढ्दै गएको छ ।
दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंशीमा ठूलो मेला लाग्दै आएको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्न जानेको संख्या पनि बढ्दै गएको हो ।
मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाटमुक्त हुने विश्वास गरिन्छ । मातातीर्थमा पछिल्लो समय आमाको श्राद्ध गर्न आउनेको संख्या बढेको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए ।
‘काठमाडौंमा कोठा भाडामा लिएर बस्ने तथा नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने गरेका छन्, यहाँ दैनिक आठ/दशजना श्राद्ध गर्न आउने गर्छन्,’ उनले भने ।