बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट देखिँदैन, बार्नु पनि पर्दैन : पञ्चांग निर्णायक समिति

काठमाडौं— नेपाल पञ्चांग निर्णायक विकास समितिले आगामी बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।
वैशाख कृष्ण औंसीका दिन लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
यस वर्ष ७ वैशाख, २७ असोज र २६ चैतमा लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनको भनाइ छ ।
११ कात्तिकमा लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । ७ वैशाखमा लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १९:०९