काठमाडौं— पछिल्लो समय विश्वव्यापीरुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै गएको छ।
संयुक्त राष्ट्र संघको ‘फुड वेस्ट इन्डेक्स २०२४’ को रिपोर्ट अनुसार सन् २०२२ मा १ अर्ब ५० करोड टन खाद्यान्न खेर गएको छ। करिब २० प्रतिशत खाद्यान्न फोहोरमै फालिएको उल्लेख छ।
उपभोक्ताहरूका लागि उपलब्ध कुल खानामध्ये, लगभग १९ प्रतिशत खुद्रा तथा खाद्य पसल र घरपरिवारहरूबाट खेर गएको हो। खेतमा उत्पादनदेखि स्टोरहरूमा बिक्रीसम्म पुग्दा खेर जाने संख्या १३ प्रतिशत रहेको छ।
संयुक्त राष्ट्र वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इनगर एन्डरसनले खाद्यान्नको फोहोर विश्वव्यापी त्रासदी बन्दै गएको बताइन्।
लाखौं मानिसहरूले पर्याप्त खाना पाउन नसकेका बेला विश्वभर खाद्यान्न खेर गइरहेको भन्दै इनगरले चिन्ता ब्यक्त गरेकी छिन्।
खाद्यान्न खेर जानुमा विश्व अर्थतन्त्रको कारण मात्रै नभई जलवायु परिवर्तन, जैविक विविधताको हानि र प्रदूषणका चुनौतीहरू पनि गहिरिँदै गएको प्रतिवेदनमा जनाइएको छ।
प्रतिवेदनका अनुसार अधिकांश खाद्यान्न बर्बाद घरपरिवार भित्रै हुन्छ। यो लगभन ६३१ मिलियन टन रहेको अनुमान गरिएको छ। खाद्य सेवा क्षेत्रमा २९ करोड टन र खुद्रा क्षेत्रमा १३ करोड १० लाख टन खाद्यान्न खेर जाने गरेको छ।
औसतमा, प्रत्येक व्यक्तिले एक वर्षमा ७९ किलोग्राम खाना बर्बाद गर्ने गरेका छन्। संसारमा भोकमरीबाट प्रभावित प्रत्येक व्यक्तिको लागि प्रत्येक दिन खानाको एक तिहाई हो।
खाद्यान्नको खेर जाने समस्या धनी देशहरूमा मात्र सीमित छैन। उच्च आय, उच्च–मध्यम आय र निम्न–मध्यम आय भएका देशहरूमा घरपरिवारहरू बीच औसत खाद्य खेर गर्ने प्रति व्यक्ति, प्रति वर्ष सात किलोग्राम फरक रहेको छ।
मध्यम आय भएका देशहरूमा ग्रामीण क्षेत्रमा खाद्यान्नको बर्बादी कम हुन्छ। यसको एउटा कारण घरपालुवा जनावरको खाना र मल वा चारा जस्ता बाँकी रहेका खानाको पुनः प्रयोग हुन सक्छ।
प्रतिवेदनले खाद्यान्न खेर कम गर्ने प्रयासलाई बलियो बनाउन र सहरहरूमा समेत सडेको खानालाई मलको रूपमा प्रयोग गर्न सिफारिस गरेको छ।
प्रतिवेदनले खाद्यान्नको बर्बादीको स्तर र औसत तापक्रमबीच प्रत्यक्ष सम्बन्ध रहेको पनि जनाएको छ। तातो हावापानी भएका देशहरूमा घरपरिवारले प्रतिव्यक्ति बढी खाना खेर फाल्ने प्रवृत्ति रहेको देखाएको छ।किनकि उनीहरू ताजा खाना खान्छन् र खाद्य संरक्षणका लागि रेफ्रिजरेसन उपकरणको अभाव हुन सक्छ।
उच्च तापक्रम, गर्मी छाल वा खडेरीले खाद्यान्नलाई सुरक्षित रूपमा भण्डारण, ढुवानी र प्रशोधन गर्न चुनौतीपूर्ण बनाउँछ, जसले गर्दा ठूलो मात्रामा खाद्यान्नको नास भइरहेको छ।