News Griha :: न्यूजगृह
पहाडी क्षेत्रमा अझै तीन दिन पानी पर्ने
सांकेतिक तस्बिर

काठमाडौं— देशभरको मौसममा बदली छ। अहिले पनि अधिकांश पहाडी जिल्लामा पानी परिरहेको छ। यो क्रम अझै तीन दिनसम्म जारी रहने मौसमविद्ले बताएका छन्। 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने सम्भावना रहेको छ भने सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा आज सामान्य वर्षा भए पनि भोलिदेखि क्रमिक सुधार हुने अनुमान गरिएको छ। 

मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताए। उनले भने, ‘हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। अहिले पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ।’

मौसमविद् पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा पहाडी जिल्लामा पनि वर्षा हुनेछ। उनले भने, ‘यसअघि देशको पूर्वी क्षेत्रमा वर्षा भए पनि पश्चिमी क्षेत्रमा पानी परेको थिएन, आजदेखि सुदूरपश्चिम र मध्यमपश्चिमका पहाडी भागमा पनि पानी पर्ने सम्भावना छ ।’

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०८:०५
Weather Update