News Griha :: न्यूजगृह
ढोलाहिटी घटना: पुरानो विवाद र क्षणिक आवेगले निम्त्याएको हत्या

काठमाडौं— होलीको दिन (आइतबार) राति ललितपुरको ढोलाहिटीमा २ जनाको ज्यान जाने गरी भएको घटनामा ‘क्षणिक आवेग’ मुख्य कारण रहेको खुलेको छ। ढोलाहिटीमा रहेको डी पोपिना नामक खाजा घरमा मदिरा सेवन गरिरहेका युवाहरुबीच भएको विवादका क्रममा चक्कु प्रहार हुँदा २ जनाको ज्यान गएको थियो। चुक्कु प्रहार गर्ने व्यक्ति खाजा घरका सञ्चालक विजय राई रहेका प्रहरी अनुसन्धानबाट खुलेको छ। 

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक  (एसएसपी) शेखर खनालले घटनामा संलग्नता देखिएका ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। ५ जनामध्ये ४ जना पक्राउ परिसकेका छन् भने १ जना अझै फरार छन्। 

प्रहरीले डी पोपिनाका २ जना सञ्चालक, खोटाङको साकेला गाउँपालिका–२ घर भइ ललितपुर महानगरपालिका–२६ जैनखेल बस्ने ३१ वर्षीय विजय राई र खोटाङ साकेला–२ नै घर भइ ललितपुरको खुमलटार बस्ने ३० वर्षीय सुलभ राईलाई पक्राउ गरेको छ। यस्तै, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ घर भइ ललितपुर–२६ सानागाउँ बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भइ ललितपुरको महालक्ष्मी–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई पनि पक्राउ परेका छन्।

घटनापछि डी पोपिनाका सञ्चालक विजय राईलाई मोटरसाइकलमा राखेर भगाउने व्यक्ति भने फरार छन्। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ। फरार भएका १ जना र पक्राउ परेका ४ जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा जाहेरी लिएर अनुसन्धान भइरहेको छ। घटनाका सन्दर्भमा थप अनुसन्धान गर्न प्रहरीले अन्य ८ जनालाई पनि पक्राउ गरेको छ। घटनामा मुख्य संलग्नता देखिएका ४ जनाको कल डिटेल रिपोर्टअनुसार प्रहरीले अन्य ८ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुविरुद्ध जाहेरी भने परेको छैन।  

पुरानो विवाद र क्षणिक आवेगले निम्त्याएको हत्या
प्रहरी वृत्त चापागाउँका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार आइतबार साँझदेखि नै ढोलाहिटीको डी पोपिना खाजा घरमा युवाहरुको एउटा समूह खाजा खाएर बसिरहेको थियो। मदिरा समेत सेवन गर्न थालेपछि उनीहरुबीच विगतका झगडालाई लिएर विवाद सुरु हुन थाल्यो। २५ वर्षीय छेङ्वीहाङ राईले गएको तिहारमा आफूलाई हेपचेप गरिएको प्रसंग निकाले। 

Dholahiti_murder_case_crime_scence-1711446256.jpg
२ जनाको ज्यान गएको घटनास्थल​।

२०८० को तिहारमा पनि मदिरा सेवन गरेर बस्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका–६ बरगाछी घर भइ ललितपुरको सोभाहिटी बस्ने २९ वर्षीय साहिल श्रेष्ठ र छेङ्वीहाङबीच विवाद भएको थियो। त्यतिबेला सबै जनाले आफूलाई गलत ठहर्‍याएको भन्दै छेङ्वीहाङले झगडा गर्न खोजे। आफ्नो खाजा घरमा झगडा हुने देखेपछि डी पोपिनाका सञ्चालक विजय राईले छेङ्वीहाङलाई बाहिर निकाले। 

खाजा घरबाट धकेल्दै बाहिर निकालिएपछि छेङ्वीहाङले आफ्नो दाइ नाता पर्ने रेवश राईलाई फोन गरे। खाजा खाने क्रममा आफूलाई हेपेको र खाजा घरबाट निकालिदिएको भनेर भाइ छेङ्वीहाङले फोन गरेपछि रेवश केही समयमै डी पोपिना पुगे। त्यसपछि दुवै जना खाजा घरभित्र छिरे।  

पहिले बाहिर निकाले पनि पुन: भित्र छिरेको भन्दै डी पोपिनाका सञ्चालक विजयले छेङ्वीहाङलाई गाली गर्न थाले। त्यही बेला रेवशले विजयमाथि आक्रमण गर्न खोजे। दुवै जनाबीच हात हालाहाल भयो। विजय खाजा घरको भान्सामा छिरे र चक्कु लिएर आए।

विजयले चक्कु ल्याएको देखेपछि छेउमै रहेका पुजन राईले उनलाई रोक्न खोजे। पुजनले विजयबाट चक्कु खोस्न खोजेका थिए। तर त्यसक्रममा पुजन राईको बायाँ तिघ्रामा गहिरो चोट लाग्ने गरी चक्कुले काटियो। विजयले बोकेको चक्कु रेवस राईको पनि छाती र कोखामा लाग्यो। 

चक्कु प्रहारबाट गम्भीर घाइते भएका पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ घर भएका पुजनलाई उनका साथीहरुले स्कुटरमा राखेर धापाखेलस्थित सुमेरु अस्पताल पुर्‍याएका थिए। यस्तै, धरान उपमहानगरपालिका–१३ घर भएका रेवशलाई पाटन अस्पताल पुर्‍याइएको थियो। 

Dholahiti_murder_case_knife_seized-1711446256.jpg
घटनामा प्रयोग भएको चक्कु प्रहरीले सडक किनार (सडक पेटी)बाट बरामद गरेको थियो।

पाटन अस्पताल पुर्‍याइएका रेवशलाई आइतबार राति नै करिब ११ बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए। चक्कु प्रहार भएर आएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि पाटन अस्पतालले प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि घटनाबारे अनुसन्धान थालेको प्रहरीले सुमेरु अस्पतालमा पनि चक्कु नै प्रहार भएका व्यक्ति ल्याइएको जानकारी पाएको थियो। प्रहरी सुमेरु अस्पताल पुग्दा त्यहाँ पुर्‍याइएका पुजनलाई पनि चिकित्सकले मृत घोषित गरिसकेका थिए। 

प्रहरीका अनुसार चक्कु प्रहार हुनुमा डी पोपिनाका सञ्चालक विजय राईको मुख्य भूमिका देखिएको छ। प्रहरीसँगको बयानका क्रममा विजयले आफूले आवेगमा आएर चक्कु प्रहार गरेको बताएका छन्। ‘त्यो भाइ (छेङ्वीहाङ) ले त्यसै निहुँ खोज्न थाल्यो। हुँदा हुँदा आफ्नो दाइलाई पनि बोलाएर झगडा गर्न आयो। मैले सम्झाउन खोज्दा पनि नमानेपछि चक्कु निकालेर डराउन खोजेको हुँ। आवेशमा थिएँ, चुक्कु लागेछ,’ विजयले दिएको प्रारम्भिक बयान उद्धृत गर्दै ललितपुर प्रहरीका १ जना अनुसन्धान अधिकृतले न्यूजगृहसँग भने। 

विदेश जाने तयारीमा थिए रेवश
आइतबारको घटनामा ज्यान गुमाएका रेवश विदेश जाने तयारीमा थिए। खाइलाग्दो ज्यान भएका उनी सकेसम्म ब्रिटिस लाहुरे हुन्छु भन्थे। नभए पनि विदेशमै गएर केही गर्छु भन्ने सोच थियो उनको। 

प्रहरीका अनुसार रोजगारीका लागि विदेश जानका लागि रेवशले डकुमेन्टेसनको प्रक्रिया अगाडि बढाइसकेका थिए। सोही कामका लागि धरानबाट काठमाडौं आएका थिए। आइतबार राति भाइ नाता पर्ने छेङ्वीहाङले बोलाएपछि डी पोपिना पुगेका उनको चक्कु प्रहारबाट मृत्यु भयो। उनको परिवारले छेङ्वीहाङसहित ५ जनाविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिएको छ।

Dholahiti_murder_case_sabut-1711446256.jpg
प्रहरीले घटनास्थलबाट बरामद गरेका अन्य दसी प्रमाणहरु।

जेलबाट छुटेर पुन: जेलमै बस्नुपर्ने अवस्थामा पुगेका विजय
प्रहरीका अनुसार आइतबारको घटनाका मुख्य अभियुक्त मानिसएका विजय राई २०७५ सालमा पनि पक्राउ परेका थिए। त्यतिबेला उनलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको थियो। प्रहरी वृत्त थानकोटको टोलीबाट लागु औषधसहित पक्राउ परेका उनी २ वर्ष जेल बसेका थिए। 

२०७७ सालमा जेलबाट छुटेका विजयले करिब ६ महिना अगाडि मात्रै आफ्ना २ जना साथीसँग मिलेर ढोलाहिटीमा डी पोपिना नामक खाजाघर खोलेका थिए। डी पोपिनाका उनका साझेदारमध्येका १ जना साथी सुलभ राई पनि आइतबारकै हत्या घटनामा मुछिएका छन्। 

सुलभ पनि विजयसँग पक्राउ परेर प्रहरी हिरासतमा छन्। राई नै थरका अर्का सञ्चालक भने घटना भएको दिन काठमाडौं बाहिर थिए। 

प्रहरीको हालसम्मको अनुसन्धानबाट घटनामा विजय नै मुख्य रुपमा जिम्मेवार छन्। २ जनाको ज्यान गएको घटनाको मुख्य अभियुक्तका रुपमा दोषी ठहर भएमा उनले अझै लामो समय जेल बस्नुपर्नेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:४०
Weather Update