News Griha :: न्यूजगृह
कैलालीमा समलिंगी प्रेमीप्रेमिकामाथि निर्घात कुटपिट

काठमाडौं— कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ स्थित सोल्टाघयनकुरमा आफूलाई समलिंगी महिला बताउने राधिका विक(नाम परिवर्तन)लाई परिवारका सदस्य र गाउँलेहरू मिलेर गरिएको निर्घाट कुटपिट एवम यातनाको घटनाप्रति चौतर्फी विरोध भएको छ। 

चैत ११ गतेका दिन अर्को एक महिलासँगै बसेको आरोपमा विक र सँगै बसेकी महिलामाथि निर्घात कुटपिट एवम् चरम यातना दिएको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मानवअधिकारवादी संस्थाहरूले उक्त घटनाको विरोध गरेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका पक्षमा आवाज उठाउँदै आएको नील हिरा समाजले घटनाको विरोध जनाउँदै तत्काल सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘एक व्यक्ति अर्को व्यक्तिसँगै बसेकै आधारमा न्यूनतम मानवीयता समेत नराखी सारा परिवार र गाउँलेहरू मिलेर निर्घात कुटपिट गरिनु कहाँसम्मको निर्लज्जता र घृणित कार्य हो? यस्तो घृणित र आपराधिक कार्यले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय मात्र नभइ, एक दलित र एक मानवमाथि क्रुर व्यवहार भएको हाम्रो ठहर छ।’

‘नेपालको संविधानको धारा १२, धारा १८ र धारा ४२ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चित गरिएको छ। समुदायका व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत स्वतन्त्रतामा कुनै बन्देज नभएको कुरा संविधानले प्रष्ट पारेको छ। तर नेपाली समाज अझैपनि परम्परागत सोच र मान्यताबाट ग्रसित हुँदा यस्ता किसिमका हर्कतहरू दोहोरिनुले मानव अधिकार र संविधानको मर्म माथि नै प्रहार भइरहेको नील हिरा समाजको निष्कर्ष छ। दुई महिलामाथि भएको कुटपिटको घटनाको घोर भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाही गर्न हामी जोडदार माग गर्दैछौँ। साथै पीडित व्यक्तिको तत्काल उद्धार गरी आवश्यक उपचार र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

समाजले राष्ट्रिय महिला आयोगलाई पत्र लेख्दै घटनाको छानविन गर्न माग गरेको छ। साथै राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीको मानव अधिकार सेललाई घटनाबारे लिखित जानकारी गराएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन्।
अध्यक्ष गुरुङले भनिन्, ‘एक जोडी समलिंगी महिलाबीच भएको प्रेम सम्बन्धका कारण निर्घात कुटपिट गरि यातना दिएको भिडिओ अहिले सामाजिक सञ्जालमार्फत निल हिरा समाजमा सूचना प्राप्त भएको र सो भिडिओ चौतर्फी रुपमा सार्वजनिक भएको छ।’

‘आफू समलिंगी महिला भएको र दुई जनाबीच प्रेम सम्बन्ध रहेका कारण उनीहरूमाथि निर्घात कुटपिट भएको छ। मानव अधिकार विरोधी घटना र हिंसाप्रति हाम्रो घोर आपत्ति छ। घटनाको सत्यतथ्य छानविन गरी पीडितलाई उचित न्याय र पीडकलाई  कारवाही गर्नका निमित्त आवश्यक प्रक्रिया अगाडि बढाउन माग गरेका छौं, ’  अध्यक्ष गुरुङले भनिन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १८:४७
Weather Update