काठमाडौं— सर्वोच्च अदालतले झापामा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार आदेश जारी गर्दै बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेको हो।
सञ्चालक दुर्गा प्रसाईंको मागअनुसार नै इजलासले सम्बन्धन दिन आदेश दिएको सर्वोच्चका सह–प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए।
बी एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आसयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईंले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। २०७७ असार २१ असार गते दायर गरेको रिटमा प्रसाईंले काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाएका थिए। प्रसाईंले सोही सम्बन्धमा २०७७ असोज ३० गते सर्वोच्च अदालतमै अर्को रिट निवेदन समेत दायर गरेका थिए।
प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गैरकानुनी भएको र त्यसबाट आफूलाई अपुरणीय क्षति पुगेको दाबी रिटमा गरेका थिए। प्रसाईंले सर्वोच्चमा रिट दायर गरेपछि त्यसको प्रतिवादमा शशीविक्रम कार्कीले अर्को निवेदन सर्वोच्चमा दिएका थिए। कार्कीले आफ्नो निवेदनमा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने जिकिर गरेका थिए।
सर्वोच्च अदालतले दुर्गा प्रसाईंका २ वटा निवेदन तथा ती निवेदनको प्रतिवादमा शशीविक्रम कार्कीले दर्ता गरेको अर्को निवेदनलाई पनि साथमै राखेर सुनुवाइ गरेको थियो। सर्वोच्चले चैत ६ गते, मंगलबार सुनुवाइ सकेर १२ गते, सोमबारका लागि निसु (निर्णय सुनाउने दिन) तोकेको थियो।