News Griha :: न्यूजगृह

काठमाडौं— मिटरब्याज तथा ठगीविरुद्ध प्रदर्शनमा उत्रेका किसान–मजदूर संघर्ष समिति र नेपाल प्रहरीबीच झडप भएको छ ।  

सोमबार रत्नपार्कस्थित शान्ति वाटिकामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनमा सहभागी मध्ये ३० जना मिटरब्याज पीडितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको आन्दोलनमा सहभागी एक सदस्यले जानकारी दिए । उनले भने, ‘नेपाल पुलिस क्लब भित्रै हामी माथि लाठी चार्ज भएको छ । निर्ग नविनको अवस्था गम्भीर छ ।’  

आफूहरूलाई अस्पताल लैजाने भन्दै अपहरण गरेर पुलिस क्लब ल्याएकोसमेत पीडितहरूले आरोप लगाएका छन् । शान्तिपूर्ण प्रदर्शन गर्नबाट रोक लगाएको पीडितहरूको गुनासो छ । 

शान्ति वाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति वाटिकामा नै प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको थियो । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी प्रहार समेत गरेको प्रदर्शनकारीले बताएका छन् ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा ५ बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १५:२७
Weather Update