News Griha :: न्यूजगृह
‘रुपाली होली’को पुस्त्यौली उमङ्ग

महेन्द्रनगर— कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ७८ वर्षीय वृद्ध नन्दसिंह चाट परम्परागत ‘रुपाली होली’ खेल्दै गर्दा भेटिए। लौरीको सहारामा रुपाली होलीमा पाइला मिलाइरहेका चाटले हरेक वर्ष फागुपूर्णिमाका अवसरमा रुपालीबासीले विशेष महत्वका साथ होली मनाउँदै आएको बताए।

‘लौरीको सहाराले भए पनि हरेक घर दिनभरी होलीमा व्यस्त हुन्छु’, उनले भने, ‘रुपाली मौलिक कला संस्कृति बोकेको महत्वपूर्ण होली हो।’ रुपाल सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराको एउटा गाउँको नाम हो। सो गाउँमा बसोबास गर्ने तथा पुर्ख्यौली घर भएकाहरुले मौलिक तरिकाले होली मनाउँछन्। त्यही रुपालको साइनो भीमदत्तनगरमा छरिएर रहेका रुबालीबीचको एकता र रङ्गिन पर्वसित जोडिएको छ। 

डडेलधुराको रुपालबाट कञ्चनपुर बसाइँ सरेका रुपालबासी समिति बनाएरै परम्परागत रुपाली होली मनाइरहेका छन्। रुपाली होली समितिका अध्यक्ष एवं बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले रुपालीहरु फाल्गुण शुल्क एकादशीदेखि फागुपूर्णिमासम्म होली मनाउने गरेको बताए। 

आफ्नो पुरानो संस्कृति जर्गेनाका लागि यहाँ परम्परागत शैलीमा होली खेल्दै आइएको भट्टको भनाइ छ। परम्परागत शैलीमा खेलिने होली रुवाली समुदायका हरेक उमेर समूहका मानिसक गोलबद्ध भएर खेल्ने गर्दछन्। यो परम्परागत होली उनीहरुले साढे चार दशकदेखि मनाइरहेका छन्।

रुपाली होली धार्मिक मान्यतालाई कायम राख्दै आफ्नै पहाडिया शैलीमा परम्परागत भाकामा गाएर होली मनाइन्छ। भीमदत्तनगरको प्रसिद्ध बैजनाथ मन्दिरबाट एकादशीमा सुरु हुने होली पूर्णिमाका दिन सोही मन्दिरमा गएर समापन गर्ने चलन छ। जागिर तथा अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेकाहरु रुपाली होली पर्वमा जमघट हुन्छन्। 

‘होली खेलेर सङ्कलन भएको रकम विभिन्न विकास निर्माणमा खर्च गछौँ’, उनले भने, ‘होलीमा गीतका माध्यमबाट विभिन्न धार्मिक भजन गाउने प्रचलन पनि छ।’ जसको घरमा बिहे र सन्तान भएको छ उसले फगुवालाई होलीको अवसरमा विशेष भोजनसमेत गराउने चलन छ। 

‘आज महेन्द्रनगरस्थित स्मारकमा सबै जम्मा भएर सामूहिक रुपमा होली खेल्ने तयारी छ’, अध्यक्ष भट्टले भने, ‘तराईमा जन्मिएका रुपाली समुदायका युवा पिँढीलाई पनि यो परम्परागत होलीमा घुलमिल गराउन प्रयासरत छौं।’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १४:४२
Weather Update