काठमाडौं— देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको छ।
अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजायात नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले अभियान सुरु गरेको हो। संघले काठमाडौं महानगरपालिकासँगको लागत साझेदारीमा मध्यपुर थिमिको क्वलाखु क्षेत्रमा लोपोन्मुख नौ बाजा सम्मेलन ११४४ सम्पन्न गरेको छ।
नौ बाजाको सिधा अर्थ नौं किसिमका मौलिक बाजका प्रकार र सोही बाज समुहमा सहायक बाजा सम्मलित गराइने हुन्छ। विशेषगरी काठमाडौं उपत्यका र काभ्रेमा मात्र यो बाजा संरक्षित छ।
बौद्धमार्गी नेवारहरुले संरक्षण गरेको नौ बाजालाई सिद्धार्थ गौतम बुद्धको तत्कालीन समयमा कपिलबस्तुमा राजकीय बाजाको मान्यता पाएको विश्वास गरिन्छ। श्रृंगभेरी अपदानको कथा र स्वयम्भू पुराणमा उल्लेख भएको नौ बाजा पछिल्लो समयमा लोप जुइगु तरखरमा छ।
संघले पहिलो पल्ट नेकू, पस्ताः, धाः, चति, डबडब, नगरा, खिं, पच्छिमा, प्वङा, ताः, भुस्या, छुस्या, पस्ता, नाय्खिं, धिमेचा, बे लगायतका बाजालाई पृथक ताल र बोलमा प्रदर्शन गर्ने वातावरण तयार गरेको हो।
संघ अन्तर्गत युवा उपसमिति र सञ्चार उपसमितिको संयोजनमा मध्यपुर थिमिस्थित सिवा सायमि खलः तथा मानन्धर युवा समुहसँग समन्वय गरी सम्पन्न भएको कार्यक्रमलाई मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन्।
कार्यक्रममा भक्तपुरको साःक्वलान, गोलमढी र तेखाच्व टोल, बनेपाको वांख्यो र क्वसाः दाफा भजन खलः तथा मध्यपुर थिमिको सिवा सायमि खलःले नौ बाजा प्रदर्शन गरेका थिए। कार्यक्रमभित्रको सांस्कृतिक पक्षलाई सुरेन्द्र मानन्धरले संयोजन गरेका हुन्। गजेन्द्र प्रसाद मानन्धरले कार्यक्रमको संयोजन गरेका हुन्।