चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु, ७ जना घाइते

बझाङ— बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सात जना घाइते छन्।
गएराति जयपृथ्वी नगरपालिका– ६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।
चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ।
घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा, छोरी कृतिका, ४० वर्षीया पञ्चादेवी सिंह, उनको छोरा ९ वर्षीय नितेश र छोरी १३ वर्षीया लक्ष्मी छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार घाइतेमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: शनिबार, चैत १०, २०८० १०:४८













