News Griha :: न्यूजगृह
फेसबुकबाट चिनजान हुँदै प्रेम, धोका दिएको भन्दै हत्या 

काठमाडौं— सुनसरीको धरान उपमहानगरपालिका–१६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा उनकै प्रेमी संलग्न रहेको खुलेको छ। प्रहरीले सुमनाका प्रेमी भनिएका युवकलाई पक्राउ गरी शुक्रबार सार्वजनिक समेत गरेको छ। 

पक्राउ पर्नेमा धनकुटा धनकुटा नगरपालिका–९ मूलघाट घर भएका १९ वर्षीय बाबुराम भुजेल छन्। प्रहरीले उनलाई धनकुटाबाट पक्राउ गरेर धरान ल्याएको छ। 

यही चैत ७ गते, बुधबार दिउँसो हत्या गरिएको अवस्थामा सुमनाको शव भेटिएको थियो। धरानको घोपा क्याम्प (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) र डिपोट स्कुलको बीचमा रहेको खोल्सीमा सुमनाको शव भेटिएको थियो। घटनास्थल प्रकृति र शवको अवस्थाअनुसार हत्या भएको आशंकासहित प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका क्रममा सुमनाको हत्या उनका प्रेमी भनिएका बाबुरामले गरेको खुलेको हो। 

इलाका प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) रन्जन मिश्रका अनुसार सुमना र बाबुरामबीच २ वर्ष अगाडि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो। फेसबुकमा कुराकानी हुन थालेपछि दुवै जना एक–अर्काको प्रेममा परे। गत पुसदेखि भने उनीहरुको सम्बन्धमा दरार आएको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

धरानकै एउटा कलेजमा कक्षा १२ मा अध्ययनरत सुमनाले गत पुसदेखि ग्लोबल ओरियन्स नेपाल नामक कम्पनीको धरान शाखामा काम गर्न थालेकी थिइन्। जागिर गर्न थालेपछि बाबुरामसँग उनको भेट केही पातलिन थाल्यो। आफूलाई भेट्न नआएको भन्दै बाबुराम उनलाई लिन ग्लोबल ओरियन्सको अफिसमै पनि पुग्ने गर्थे। 

सुमनाको अफिस पुग्न थालेपछि भने बाबुरामले अर्कै दृश्य देख्न थाले। सुमनाले आफूलाई भन्दा सँगै काम गर्ने श्रेष्ठ थरकै अर्का युवकलाई बढी महत्त्व दिएको देखेपछि बाबुराम क्रुद्ध भएका थिए। पछिल्लो समय सुमनाको फेसबुक समेत ती युवकले प्रयोग गर्ने गरेको विषय बाबुरामले थाहा पाए। 

सुमनाले आफूलाई भन्दा अर्को युवकलाई बढी महत्त्व दिएको विषय बाबुरामका लागि सह्य भएन। ‘सुमनाले अर्कै युवकसँग बढी सँगत गर्न थालेको थाहा पाएपछि बाबुरामले हत्या सम्मको योजना बनाएको देखिन्छ,’ इन्सपेक्टर मिश्र भन्छन्। 

प्रहरी अनुसन्धानबाट खुलेअनुसार बाबुराम मंगलबार धनकुटाबाट धरान पुगेका थिए। धरान पुगेपछि उनले सुमनालाई पनि भेटे। सुमनालाई भेटेर उनले स्कुटर सिकाइदिने प्रस्ताव राखे। त्यसपछि सुमनालाई आफ्नो स्कुटरको पछाडि राखेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प)तिर लागे। 

प्रहरी अनुसन्धानबाट खुलेअनुसार बाबुरामले हत्याको योजनाअनुसार नै सुमनालाई स्कुटरमा राखेर घोपा क्याम्पतिर लिएर गएका थिए। त्यहाँ पुगेपछि उनले खुकुरीले घाँटीमा प्रहार गरेर सुमनाको हत्या गरेको प्रहरीले जनाएको छ। 

‘बावुराम भुजेलले योजनाअनुसार नै साथमा लिएर गएको खुकुरी निकाली सुमना श्रेष्ठको घाँटी रेटी हत्या गरेको देखियो। रातको समयमा सुमनाको हत्या गरेपछि उनी खुकुरीसमेत त्यहीँ फालेर हिँडेका रहेछन्,’ इन्सपेक्टर मिश्रले न्यूजगृहसँग भने। 

सुमनाको हत्यापछि खुकुरीसमेत घटनास्थल नजिकै फालेर बाबुराम त्यहाँबाट भागेका थिए। उनी धरानबाट भागेर मंगलबार राति नै धनकुटा पुगेका थिए। 

सुमनाको शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले धनकुटामा लुकिछिपी बसेको अवस्थामा बाबुरामलाई पक्राउ गरेको थियो। पक्राउ परेका बाबुरामविरुद्ध कर्तव्य ज्यानको मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १९:१०
Weather Update