काठमाडौं— अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ जाँचबुझ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो।
समितिमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य रहेका छन्। जाँचबुझ आयोगलाई मिटरब्याजसम्बन्धी समस्याको अध्ययन गरी समाधानका सुझाव समेटेर ३ महिनाभित्र प्रतिवेदन दिन भनिएको छ।
मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि भन्दै सरकारले यसअघि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो। उक्त आयोगले मिटरब्याजसँग सम्बन्धित ५ हजार वटा उजुरीको अध्ययन गरी फर्स्योट गरेको थियो। तर उक्त आयोगले प्रभावकारी काम गर्न नसकेको भन्दै पीडितहरु आन्दोलनका लागि पुन: काठमाडौं आएका थिए।
आन्दोलनकारी पीडितहरुसँगको वार्तामा सरकारले मिटरब्याजसम्बन्धी समस्याको अध्ययन गरी त्यसको समाधानका लागि अर्को आयोग गठन गर्ने सहमति गरेको थियो।
पीडितहरुसँग भएको सहमतिअनुसार गृह मन्त्रालयको प्रस्तामा आयोग गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।