काठमाडौं— धरानकी २१ वर्षीया सुमना श्रेष्ठको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका- १८ मा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरिएको अवस्थामा सुमनाको शव भेटिएको थियो। उक्त हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले एकजना युवकलाई धनकुटाबाट बिहीबार पक्राउ गरेको हो।
पक्राउ परेका भुजेल थरका ती युवकले सुमनाको हत्या गरेको स्वीकारेको एकजना प्रहरी अधिकारीले बताए। उनका अनुसार सुमनाले आफूलाई धोका दिएका कारण हत्या गर्नु परेको बयान प्रहरीमा दिएका छन्।
प्रहरीले उनलाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ। सुमनाको शव घाँटी रेटिएको अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचमा भेटिएको थियो।
बाख्रा चराउन गएका स्थानीयबासीले बुधबार दिउँसो सुमनाको शव भुइँमा लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलको केही परबाट प्रहरीले खुकुरी पनि बरामद गरेको थियो।