तीन करोड २१ लाख रुपैयाँ बिगो मागदाबीसहित शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं— काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ।
कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो।
सो सम्बन्धमा छानबिन हुँदा उनको ३ करोड २१ लाख ३२ हजार ९ सय ५६ रुपैयाँ ७५ पैसा बराबरको सम्पत्ति वैधानिक नदेखिएकाले सोही बराबरको रकम बिगो मागदाबी लिइएको छ।
यस्तै, अवैध सम्पत्ति असुल उपर गर्ने प्रयोजनका लागि उनकी पत्नी देवकालाईसमेत प्रतिवादी कायम गरी सम्पत्ति जफतको मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८० १४:०८