News Griha :: न्यूजगृह
आमरण अनसनमा रहेका केसीको स्वास्थ्य गम्भीर

काठमाडौं— आमरण अनसनमा रहेका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

केसीलाई चैत १ गते भृकुटीमण्डपमा प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गरेर थुनामा राखेको र त्यही दिनदेखि उनले आमरण अनसन सुरु गरेका थिए। दुई दिनपछि वीर हस्पिटल लगिएका उनी रिहाइ लगत्तै तिनकुनेमा आमरण अनसनमा छन्। उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको आन्दोलनरतले जनाएका छन्। 

‘उहाँको शरीरमा रहेको घाउचोट र आमरण अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले तत्काल उहाँको जीवन रक्षाका लागि आवाज उठाउनु हामी सबैको कर्तव्य भएकाले उहाँको विषयलाई उठान गरिदिनुपर्ने भएको छ,’ एक आन्दोलनरत पीडितले भने।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि केसीको अवस्था नाजुक रहेकोतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् । उनले सहकारी बचतकर्ताहरुको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पनि केसीको जीवन रक्षा गर्न र सहकारी वचतकर्ताहरुको उठाएका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

‘अनसनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भइ वार्ता र संवादका माध्यमबाट सहकारी पीडितहरुको समस्याको समाधान गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ। सरकारले बिहीबार वार्ता गर्न आन्दोलनरत पक्षलाई सिंहदरबार बोलाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:०१
Weather Update