News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चौधरी समूह नै अनुसन्धानमा तानिएको बाँसबारी जग्गा प्रकरण के हो?
बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी जग्गामा हाल चौधरी समूहको चाँदबाग स्कुल सञ्चालनमा छ। 

काठमाडौं— देशकै सबैभन्दा ठूलो व्यवसायिक घराना चौधरी समूह अहिले सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएको छ। सरकारी जग्गालाई निजी स्वामित्वमा ल्याएर भ्रष्टाचार गरेको प्रकरणमा चौधरी समूहका हर्ताकर्ता विनोद चौधरी, अरुण चौधरी र बसन्त चौधरीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ।

विनोद चौधरी नेपालका ‘एकमात्र’ डलर अर्बपति समेत हुन्। उक्त जग्गा हिनामिना प्रकरणमा विनोद चौधरी र बसन्त चौधरीले बिहीबार सीआईबीमा पुगेर बयान दिएका छन्। अरुण चौधरीलाई भने गत माघ १८ गते पक्राउ गरी सीआईबीले केही दिन आफ्नो नियन्त्रणमा राखेर अनुसन्धान गरेको थियो। 

चौधरी समूहमाथि काठमाडौंको बाँसबारीस्थित बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ। सरकारी स्वामित्वको उद्योगलाई निरन्तर घाटामा गएको देखाएर जग्गा हडपेको विषय प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

Prabhu Bank

के हो बाँसबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरण? 

चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापना भएको बाँसबारी छाला जुत्ता उद्योगले सुरुमा ८० रोपनीभन्दा बढी जग्गा चर्चेको थियो। जसमध्येको १८ रोपनी ३ आना २ पैसा जग्गा सरकारले २०३७ सालमा उद्योगको नाममा नामसारी गर्‍यो। सुरुवाती वर्षहरुमा राम्रैसँग चलेको बाँसबारी छाला जुत्ता उद्योग पछि भने निरन्तर घाटामा रहेको देखाइयो।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०४०/०४१ मा तयार पारेको प्रतिवेदनमा उद्योग ४६ लाख रुपैयाँ घाटामा रहेको देखाइएको थियो। यस्तै, आर्थिक वर्ष २०४१/०४२ सालमा ४३ लाख रुपैयाँ र २०४२/०४३ सालमा ३२ लाख रुपैयाँ घाटामा रहेको प्रतिवेदनले देखाएको थियो। सरकारी प्रतिवेदनहरुमा नै लगातार लगातार घाटामा सञ्चालित रहेको देखाएर २०४३ सालमा उद्योगको १० रोपनी जग्गा बेच्ने निर्णय हुन्छ।  

उद्योगको घाटा उकास्नका लागि उत्पादनमा विविधीकरणका लागि भन्दै २०४३ सालमा बाँसबारीले च्याम्पियन फुटवेयर लिमिटेडसँग सहकार्य गर्ने निर्णय भयो। २०४३ भदौ १३ गतेको उद्योग सञ्चालक समितिको बैठकले सुरुमा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बेच्ने निर्णय गर्‍यो। सोही बैठकले थप ४ रोपनी जग्गा पनि च्याम्पियनलाई बेच्ने निर्णय गर्‍यो।

प्रतिरोपनी २ लाख ५० हजार रुपैयाँका दरले २५ लाख रुपैयाँमा १० रोपनी जग्गा बेच्ने निर्णय भएको थियो। तर उक्त जग्गा बेचेर उद्योगले पैसा लिएन, च्याम्पियन फुटवेयरमा प्रतिकित्ता १ हजारका दरले २ हजार ५०० कित्ता शेयर लिने निर्णय भयो। जग्गा बेच्ने निर्णय हुँदा पनि बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गाको मूल्याङ्कन सरकारी दररेट भन्दा पनि कम राखेर भएको थियो। 

त्यतिबेला सरकारले गरेको मूल्याङ्कनमा बाँसबारी क्षेत्रको जग्गाको मूल्य प्रतिरोपनी ८ लाख ५० हजार रुपैयाँसम्म थियो। जबकि बाँसबारीको जग्गा प्रतिरोपनी २ लाख ५० हजार रुपैयाँ मात्रै मूल्याङ्कन भयो। च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरी (विनोद चौधरीका बुवा), विनोद चौधरी, बसन्त चौधरी, अरुण कुमार चौधरीसहित संस्थापक शेयरधनी थिए।

बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर मुस्किलले ३ वर्ष मात्रै चल्यो। सुरुमा लिमिटेड (पब्लिक कम्पनी) रहेको च्याम्पियन फुटवेयर २०५४ सालमा प्रालि (व्यक्तिग कम्पनी) बन्यो। २०७८ असार २८ मा आएर च्याम्पियन फुटवेयर प्रालिको पनि नाम परिवर्तन गरी ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ बनाइयो। जसमा हाल चौधरी समूहकै चाँदबाग स्कुल सञ्चालनमा छ। १० रोपनी जग्गाको स्वामित्व लिएको ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ मा हाल विनोद चौधरीका भाइ अरुण कुमार चौधरी र उनकी श्रीमती शीला चौधरी शेयर सदस्य छन्।

२०५४ सालमा च्याम्पियन फुटवेयर लिमिटेडलाई प्रालि बनाइएपछि विनोद चौधरी, बसन्त चौधरी, अरुण कुमार चौधरी, महेशकुमार अग्रवाल, गंगादेवी चौधरी र शीला चौधरी शेयर सदस्य कायम भएका थिए। पहिले पब्लिक कम्पनी रहेको च्याम्पियन फुटवेयरमा बाँसबारी छाला जुत्ता उद्योगको पनि २ हजार ५०० कित्ता शेयर थियो।

उक्त शेयर पनि पछि चौधरी समूहले नै लियो। तर उक्त शेयर नामसारीको प्रक्रियासँग सम्बन्धित कागजात नै गायब पारिएको अनुसन्धान अधिकारीहरुले बताएका छन्। सीआईबी स्रोतका अनुसार अहिले बाँसबारी छाला जुत्ता उद्योगको जग्गा व्यक्ति (चौधरी समूह)को नाममा ल्याउन कुन–कुन मितिमा क–कसले निर्णय गरे भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। यसमा बाँसबारी छाला जुत्ता उद्योगका तत्कालीन कार्यकारी अजितनारायण सिंह थापाको पनि मुख्य भूमिका देखिएको छ।  

‘यो जग्गा निजीकरण गरिएको विषयसँग सम्बन्धित धेरै निर्णय र फाइलहरू गायब पारिएका छन्। हामीले केही फेला पारेका पनि छौं। अहिलेसम्मको अनुसन्धानबाट पूर्वयोजना अनुसार नै सरकारी जग्गा व्यक्तिको बनाइएको खुलेको छ। अनुसन्धान पूरा भएपछि सबै विवरण खुल्छ,’ जग्गा प्रकरणबारे अनुसन्धान गरिरहेका सीआईबीका एक अधिकृतले न्यूजगृहसँग भने। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:१८
sagarmatha cementsagarmatha cement
Weather Update