काठमाडौं— मोरङको बेलबारी नगरपालिका–१ भेडाटोलमा डेरा गरी बस्दै आएका ६० वर्षका १ जना पुरुषले ४५ वर्षीया श्रीमतीको हत्यापछि आत्महत्या गरेका छन्। ६० वर्षीया बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता, डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
डीएसपी दाहालका अनुसार बमबहादुरले बुधबार बिहान करिब १:४५ बजेतिर धारिलो प्रहार गरी श्रीमती गीताको हत्या गरेका थिए। श्रीमतीको हत्या गरेपछि सोही धारिलो हतियारले बमबहादुरले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको देखिएको दाहालले बताए।
‘बमबहादुरले धारिलो हतियार प्रयोग गरी सुरुमा श्रीमती गीताको हत्या गरेको र पछि सोही हतियारले आफ्नो घाँटी रेटेर हत्या गरेको देखिन्छ,’ डीएसपी दाहालले न्यूजगृहसँग भने।
डीएसपी दाहालका अनुसार उनीहरु दुवै जनाले एक–अर्कासँग दोस्रो विवाह गरेका हुन्। पहिलो विवाहबाट उनीहरु सन्तान रहेको जानकारी मिलेको डीएसपी दाहालले जानकारी दिए।
दोस्रो विवाहपछि उनीहरुका १ जना छोरा छन्। बमबहादुरले श्रीमती गीताको हत्या गर्दा ८ वर्षीय छोरा पनि सँगै थिए। तर उनी भने भागेर ज्यान जोगाउन सफल भएको डीएसपी दाहालले बताए।
‘उनीहरुको दोस्रो विवाहपछि छोरा छन्। हाल ८ वर्ष पुगेको भन्ने जानकारी छ। बमबहादुरले श्रीमतीको हत्या गर्दा छोरा पनि त्यहिँ रहेछन्। उनले भागेर ज्यान जोगाएको भनेर हामीसँग भनेका छन्,’ डीएसपी दाहालले भने।
अर्कैसँग सल्किएको भन्दै गीतालाई कुटपिट गरिरहन्थे बमबहादुर
बमबहादुर र गीताको स्थायी ठेगना खुलेको छैन। उनीहरु बेलबारी नगरपालिका–१ भेडाटोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएका थिए।
डेरा नजिकका छिमेकीहरुका अनुसार बमबहादुरले श्रीमती गीतालाई पहिले पनि पटक पटक कुटपिट गर्ने गरेका थिए। आफूलाई छाडेर अर्कैसँग सल्किएको भन्दै उनले पटक–पटक गीतामाथि कुटपिट गर्ने गरेको भनेर स्थानीयले जानकारी दिएको डीएसपी दाहालले बताए।
‘बमबहादुरले अर्कैसँग सल्किएको भनेर श्रीमती गीतालाई पटक पटक कुटपिट गर्ने गरेको भन्ने विवरण प्राप्त भएको छ। उनीहरुबीच पटक–पटक झगडा हुने गरेको भनेर पनि स्थानीयले बताएका छन्,’ डीएसपी दाहालले भने।
मंगलबार पनि रातभर उनीहरुबीच पटकपट झगडा भएको भनेर स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। सधैंजसो झगडा हुने गरेका कारण स्थानीयले उनीहरुको खासै वास्ता गर्दैनथिए। मंगलबार रातभर झगडा हुँदा मध्यरात बमबहादुरले श्रीमतीको हत्या गरेर आत्महत्या गरे।
बमबहादुरका ८ वर्षीय छोरा बुधबार बिहान करिब २ बजेतिर चर्को आवाजमा रोएको सुनेपछि घरधनीसहित छिमेकीहरु उनीहरुको कोठामा पुगेका थिए। कोठामा पुग्दा गीता र बमबहादुर रगताम्य अवस्थामा भेटिएका थिए।
गीता मृत्यु भइसकेको अवस्थामा भेटिएकी थिइन्। घाँटी रेटेका बमबहादुर छट्पटाइरहेको देखेपछि स्थानीयले उद्धार गरी विराटनगरस्थित नोबेल अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार बमबहादुर बेवारिसे अवस्थामा यत्रत्यत्र डुल्ने गरेका थिए। दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरुका आफन्त पनि सम्पर्कमा थिएनन्।
मृतक गीताको माइत धनकुटा रहेको भन्ने जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। गीताको पहिलो विवाह पट्टीको छोरा भन्दै १ जना पुरुष प्रहरीको सम्पर्कमा आएका छन्।