
काठमाडौं— सुन तस्करी प्रकरणको छानबिनका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) खोसिएका छन्। गृह मन्त्रालयको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले महराका पीएसओलाई फिर्ता बोलाएको हो।
महराको व्यक्तिगत सुरक्षाका लागि प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) १ जना र वरिष्ठ हवल्दार १ जना गरी २ जना पीएसओ खटिएका थिए। सरकारले महरालाई पूर्व गृहमन्त्री तथा पूर्व सभामुखको रुपमा पीएसओको सुविधा दिएको थियो। तर पीएसओको सुविधा पनि महराले कार्यविधि विपरीत लिइरहेका थिए।
विद्युतीय चुरोट (भेप) तथा स्कुटरको ब्रेक प्याडमा लुकाएर भएको सुन तस्करीमा संलग्नता देखिएपछि महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो। महरालाई सोमबार नै काठमाडौं ल्याएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
स्वास्थ्यवस्था कमजोर रहेको भन्दै महराले अदालतबाटै अस्पतालमा बस्न पाउने सुविधाका लागि अनुमति लिएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नियन्त्रणमा रहेका महरा हाल नर्भिक अस्पतालमा छन्।
तस्करीको छानबिनका लागि पक्राउ परेपछि महराबाट पीएसओको सुविधा खोसिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। महराको व्यक्तिगत सुरक्षामा खटिएका दुवै जना पीएसओ मंगलबारदेखि नै प्रहरी प्रधान कार्यालयमा उपस्थित भएका छन्। उनीहरुलाई आवश्यक देखिएको अन्य ठाउँमा परिचालन गरिने प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।
यो पनि पढ्नुहोस
महराको बयान लिनै सकस– धेरै कम बोल्छन्, बोलेको पनि बुझिँदैन!
सुन तस्करीमा कसरी जोडिएका थिए महरा?