काठमाडौं— सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको बयान लिन प्रहरीलाई सकस परेको छ। स्वास्थ्यमा समस्या देखिएको भन्दै अदालतबाटै अनुमति लिएर नर्भिक अस्पताल भर्ना भएका महरा प्रहरीले बयान लिँदा बोल्न मान्दैनन्। बोलेको पनि बुझ्न नसकिएको अनुसन्धानमा संलग्न सीआईबीका १ जना अधिकारीले न्यूजगृहलाई जानकारी दिए।
नर्भिक अस्पतालका चिकित्सकले महरालाई झण्डै आधा दर्जन स्वास्थ्य समस्या देखिएको बताएका छन्। चिकित्सकहरुले महराको रक्तचाप (ब्लड प्रेसर) बढेको, स्ट्रोकको जोखिम देखिएको, प्रोस्टेटको पुरानै समस्या रहेको, टीबीको समस्या रहेको, बोलीमा समस्या भएको र सुगर बढेको भनेर प्रहरीलाई जानकारी दिएका छन्। यस्तै, उनी राम्ररी उभिन र अरुको सहारा नलिइ हिँड्न पनि नसक्ने अवस्थामा रहेको भनेर चिकित्सकले प्रहरीलाई जानकारी गराएका छन्।
महरामाथि अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले सोमबारदेखि नै महराको बयान लिन सुरु गरिएको जानकारी दिए। यद्यपि महराले धेरै बोल्न नमानेको र बोलेको कुरा पनि स्पष्ट नबुझिएका कारण बयान लिन समय लाग्ने देखिएको बोगटीको भनाइ छ।
‘उहाँको बयान लिने काम त हिजै (सोमबार)देखि नै सुरु भएको हो। अस्पतालमा पनि हामीले बयान लिइरहेका छौं,’ एसपी बोगटीले भने, ‘उहाँको बोलीमा पहिलेदेखि नै समस्या रहेछ। अहिले उहाँको बोली झन् अस्पष्ट भएको छ। उहाँलाई थुप्रै खाले स्वास्थ्य समस्या रहेको देखियो।’
सुन तस्करीसम्बन्धी छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीमा महराको प्रत्यक्ष संलग्नता देखिएको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। जसअनुसार उनीमाथि पुन: अनुसन्धान सुरु गरिएको हो।
महरालाई प्रहरीले सोमबार कपिलवस्तबाट पक्राउ गरेको थियो। सोमबार नै काठमाडौं ल्याएर उनलाई अदालतमा उपस्थित गराइएको थियो। काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धानका लागि प्रारम्भिक चरणमा ४ दिनको म्याद दिएको छ।
महराले आफ्नो स्वास्थ्यमा समस्या रहेको भन्दै अदालतमा नै अस्पतालमा बस्न पाउने सुविधा माग गरेको थियो। अदालतले उनको स्वास्थ्यावस्था जटिल रहेको भन्दै अस्पतालमा राख्ने व्यवस्था गर्न भनेको थियो।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महरा नेपालमा चिनियाँ नागरिकको संलग्नतामा भएको सुन तस्करीमा संलग्न रहेको विषय यसअघि नै सार्वजनिक भएको थियो। विद्युतीय चुरोट (भेप) तथा मोटरसाइकलो ब्रेकप्याडमा लुकाएर भएको सुन तस्करीमा संलग्न रहेका चिनियाँहरुसँग महराको पटक–पटक सम्पर्क भएको देखिएको थियो। उक्त तस्करीको अनुसन्धानका क्रममा सीआईबीले पहिले पनि महराको बयान लिएको थियो। बयानका क्रममा महराले सुन तस्करीमा संलग्न चिनियाँहरुलाई आफूले फलफूल व्यापारीका रुपमा मात्रै चिनेको बताएका थिए।
सीआईबीले बयान लिए पनि उनलाई अभियुक्त भने बनाएको थिएन। यद्यपि उच्चस्तरीय जाँचबुझ आयोगले उनीमाथि मुद्दा चलाउन सिफारिस गरेपछि पक्राउ गरेर पुन: अनुसन्धान सुरु गरिएको हो।
यो पनि पढ्नुहोस
सुन तस्करीमा कसरी जोडिएका थिए महरा?