News Griha :: न्यूजगृह
रासस सर्लाही सम्वाददाता शंकर पहाडी ठगी आरोपमा पक्राउ

काठमाडौं— सर्लाही प्रहरीले ठगी आरोपमा पत्रकार शंकर पहाडीलाई पक्राउ गरेको छ।

सिन्धुलीको तीनपाटन गाउँपालिका– १० घर भई हाल सर्लाहीको लालबन्दीमा बस्दै आएका एसपी गौरव भनिने ३२ वर्षीय पहाडीलाई ठगी आरोपमा बुधबार बिहान लालबन्दीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

पहाडी राष्ट्रिय समाचार समिति सर्लाहीका सम्वाददाता हुन्। उनले कमलामाई डटकम नामको अनलाइनसमेत सञ्चालन गर्दै आएका छन्। 

कागजपत्र बिनाको बा २७ प २९५२ नम्बरको मोटरसाइकल ५० हजार रुपैयाँमा बिक्री गरेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल गिरीले जानकारी दिए।

इन्स्पेक्टर गिरीका अनुसार उक्त मोटरसाइकल सिन्धुलीका एक व्यक्तिलाई बिक्री गर्दा पहाडीले त्यसको सवारी दर्ता किताब १ हप्तापछि दिने र सम्बन्धित निकायबाट नामसारी गरिदिने भनेर ५० हजार रुपैयाँमा लिएका थिए।

तर, अहिलेसम्म उक्त मोटरसाइकलको सवारी दर्ता किताब सम्बन्धित व्यक्तिलाई नदिएको र उक्त मोटरसाइकलसमेत निजको नाममा दर्ता नरहेको पाइएको प्रहरीले जनाएको छ।

मोटरसाइकल खरिद गर्ने सिन्धुलीका एक व्यक्तिले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको गिरीले बताए। 

‘पहाडीलाई सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरेका हौँ। थप अनुसन्धान जारी छ,’ गिरीले भने। 

पत्रकारिताको आवरणमा ठगी धन्दा चलाएको भन्दै प्रेस सेन्टर मधेस प्रदेशले पहाडीलाई एक वर्षअघि संगठनबाट निस्कासन गरेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:३४
Weather Update