News Griha :: न्यूजगृह
महरालाई निलम्बन गर्नेबारे माओवादी केन्द्रमा बाझियो मत

काठमाडौं— सुन तस्करी प्रकरणको छानबिनका लागि पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महराको निलम्बनलाई लिएर नेकपा माओवादी केन्द्रमा मत बाझिएको छ। पार्टी पदाधिकारीहरुको मंगलबार बसेको बैठकमा महराको निलम्बनलाई लिएर नेताहरुले फरक–फरक धारणा राखेका हुन्। 

पूर्व सभामुख समेत रहेका महरा सोमबार कपिलवस्तबाट पक्राउ परेका थिए। सोमबार नै काठमाडौं ल्याइएका महरामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रारम्भिक चरणमा ४ दिनको म्याद दिएको छ। 

महरा पक्राउ परेपछि उनको निलम्बनको विषयमा निर्णय गर्ने मंगलबार बिहान पार्टी पदाधिकारीहरुको बैठक बोलाइएको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीसम्बन्धी छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख मुख्य विषयबारे जानकारी गराएका थिए। साथै महराको संलग्नता र उनीविरुद्ध मुद्दा चलाउनुपर्ने विषयमा आयोगले गरेको सिफारिसबारे पनि प्रचण्डले पार्टी बैठकमा जानकारी गराएका थिए। 

प्रचण्डको ब्रिफिङपछि पार्टीका केही पदाधिकारीहरुले पछि अदालतको आदेशले ठहरे बमोजिम हुनेगरी हाललाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए। केही पदाधिकारीहरुले भने मुद्दा  अभियोजनको अवस्थामा नजाँदै प्रहरीले पक्राउ गरेकै भरमा निलम्बन गर्न नहुने धारणा राखेका थिए। अनुसन्धान सकेर कुन प्रकारले अभियोजन हुन्छ र अदालतले कस्तो थुनछेक आदेश सुनाउँछ भन्ने कुरा पर्खिनुपर्ने ती पदाधिकारीहरुको राय थियो। 

बैठकमा भएको छलफलबारे जानकारी दिँदै पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले मंगलबार बिहानको बैठकमा छलफल भएको र निर्णय हुन बाँकी रहेको जानकारी दिए। निलम्बनको सन्दर्भमा अब बस्ने बैठकले निर्णय गर्ने सापकोटाको भनाइ छ।     

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:४७
Weather Update