News Griha :: न्यूजगृह
महरालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं— सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले महरामाथि अनुसन्धानका लागि पहिलो चरणमा ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

महरा आज (सोमबार) कपिलवस्तु–रुपन्देही क्षेत्रबाट पक्राउ परेका थिए। उनलाई सोमबार नै काठमाडौं ल्याएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) अदालतमा उपस्थित गराएको थियो। 

महरा भेप तथा ब्रेक प्याडमा लुकाएर भएको सुन तस्करीमा संलग्न भएको आरोप छ। चिनियाँ नागरिकको प्रत्यक्ष संलग्नतामा नेपालमा हुने सुन तस्करीमा महराको नाम पहिले नै सार्वजनिक भएको थियो। १० पुस २०७९ मा फ्लाई दुबईको उडानबाट काठमाडौं उत्रिएका चिनियाँ नागरिक ली हासनले भेपमा लुकाएर ल्याएको सुन छुटाउन महाराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुखलाई फोन नै गरेका थिए। यस्तै, महराका छोरा राहुल महरा सुन लुकाएर ल्याइएको उक्त भेप छुटाउन भन्सार कार्यालय नै पुगेका थिए। 

सीआईबीले गरेको अनुसन्धानबाट उक्त सुन तस्करीमा चिनियाँ नागरिक ली हासन र दाओजिङ वाङको मूख्य संलग्नता रहेको खुलेको थियो। पूर्व सभामुख महराले सुन तस्करीमा मुख्य नाइके भनिएका दुवै चिनियाँ नागरिक ली हासन र दाओजिङ वाङसँग पटक–पटक फोन सम्पर्क गरेको खुलेको थियो। 

तस्करीको सुन छुटाउन विमानस्थल प्रमुखलाई नै फोन गरेको तथा तस्करीका नाइकेसँग पटक–पटक सम्पर्कमा रहेको देखिएपछि सीआईबीले महरालाई पनि अनुसन्धानको दायरमा ल्याएको थियो। तर त्यतिबेला उनको बयान मात्रै लिएर छाडिएको थियो। 

पछि सुन तस्करीको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले महराविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो। सुन तस्करी प्रकरणबारे ५ महिना अनुसन्धान गरेको आयोगले केही दिन अगाडि मात्रै सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। 

आयोगको प्रतिवेदनमा सुन  तस्करीबारे यसअघि सीआईबीले गरेको अनुसन्धानमा गम्भीर त्रुटि रहेको विषय औंल्याएपछि सरकारले त्यसबारे पुन: छानबिन सुरु गर्न प्रहरीलाई निर्देशन दिएको छ। जसअनुसार अहिले सुन तस्करीमा पुन: अनुसन्धान सुरु गर्दै सीआईबीले महरालाई पक्राउ गरेको छ। 

सुन तस्करीमा संलग्नता देखिएका महराका छोरा राहुल भने हाल पुर्पक्षका लागि थुनामा छन्। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:०५
Weather Update