News Griha :: न्यूजगृह
स्वचालित हतियार र १०० राउन्ड गोलीसहित सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ 
दुर्गा प्रसाईंका बडिगार्डको साथमा फेला परेको अत्याधुनिक हतियार

काठमाडौं– राजतन्त्र पुनर्स्थापनाको अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गाप्रसाईंका बडिगार्ड हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी नवराज अधिकारीले दुर्गा प्रसाईंका निजी अंगरक्षक भनिने व्यक्तिलाई सर्वोच्च अदालतबाट हतियारसहित पक्राउ गरिएको बताए। 

‘सर्वोच्च अदालतको प्रवेश द्वारामा शंका लागि चेकजाँच गर्दा उनको साथमा हतियार फेला परेको हो। हतियार भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो,’ एसपी अधिकारीले न्यूजगृहसँग भने। 

एसपी अधिकारीका अनुसार प्रसाईंका बडिगार्डको साथबाट १ थान स्वचालित हतियार, त्यसमा लाग्ने म्यागेजिन ४ थान र १०० राउन्ड गोली बरामद भएको छ। 

आफूसँग सम्बन्धित मुद्दाको सुनुवाइ भएका कारण प्रसाईं सोमबार सर्वोच्च अदालत पुगेका थिए। प्रसाईंसँगै अदालत प्रवेश गरेका खड्कासँग हतियार भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका खड्कालाई अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।


*यसअघि समाचारमा प्रसाईंका बडिगार्डको साथबाट पेस्तोल बरामद भएको विषय उल्लेख भएकोमा प्रहरीले उक्त हतियार पेस्तोल नभइ अत्याधुनिक स्वचालित गन (बन्दुक) भएको विषय जानकारी गराएपछि सच्याइएको छ। –सम्पादक

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:३२
Weather Update