News Griha :: न्यूजगृह

काठमाडौं— सन्त शम्भुशरण लाटाले सन् १९८८ मा मुरारीबाबुबाट पहिलोपटक राम चरित्र सुनेपछि मन्त्रमुग्ध भए । कथाको प्रभावले सन् १९९० देखि उनी आफैंले  राम कथा वाचन सुरु गरे ।

स्थायी घर राजस्थान (भारत) का भए पनि कलकत्तामा बसेको उनको परिवारले भागवत गीताको कथा पढ्ने गर्थे । सानोमा उनले पनि भागवत गीताको कथा सुने । जब रामायणको कथा सुने त्यसपछि उनको जीवनको दिशा नै परिवर्तन भयो । उनी भन्छन्, ‘राम चरित्र मानस सरल भाषामा लेखिएको छ । मानव मात्रको भलो यति सरल भाषामा लेख्न सकिन्छ । त्यसैले मैले कथा वाचन गर्ने निर्णय गरे ।’

कथा वाचन तथा श्रवण वैदिक कालदेखि नै चल्दै आएको चलन हो । तर आधुनिक युगको विस्तारसँगै कथा वाचन परिष्कृत भएको छ । पश्चिमले लोक कथा, यथार्थवादी कथा र प्रेरणात्मक कथा वाचन गरिरहँदा भारत र नेपालमा भने हिन्दु ग्रन्थ, वेद पुराण, रामायण, गीता र महाभारतजस्ता धार्मिक ग्रन्थहरू अझै पनि सार्वजनिक रूपमा सरल भाषामा सुनाउने चलन छ । सोही अनुरूप विगत आठदिनदेखि लाटा काठमाडौंको माडवाडी सेवा समितिमा निःशुल्क कथा वाचन  सुनाइरहेका थिए । आइतबार अन्तिम दिन पनि उनी रामायण कथा सार सुनाउन व्यस्त देखिन्थे ।

९० दशकमा नेपालीको घर–घरमा भारतीय टेलिभिजनमार्फत रामानन्द सागरद्वारा  निर्मित रामायण हेरिन्थ्यो । लाटा रामको कहानी त्यही रामानन्द सागरले देखाएको नै भएको बताउँछन् । भन्छन्,‘तर त्यो चलचित्र थियो । त्यो सधैं रहनेवाला छैन । जसैजसै संसार चल्छ, अरू मानिस थपिनेछन् । कथाको परम्परा चलिरहन्छ । टीभी त भर्खर आएको हो । पहिला यसरी नै कथा वाचन हुन्थ्यो । जुन म अहिले गरिरहेको छु ।’

उनकाअनुसार कथा वाचन सुन्न आउने रामको कथा जान्नका लागि मात्र होइन । ‘कथा सबैले जानेका छन्,’ उनले भने, ‘तर तुलसी दासले राम चरित्र मानस यसरी लेख्नुभएको छ कि मान्छेले स्पयम्को कमीलाई महसुस गर्न सक्छन् । आफूभित्रको रिससँग साक्षात्कार गर्न सक्छन् । रिसाउनु हुँदैन । रिसाएमा त्यसको परिणाम हानिकारक हुन्छ ।’

‘रामायणमा सीतालाई अन्याय भएको छैन । सीताको धर्तीमा समय सकिन लागेको थियो । उनी वाल्मीकि आश्रममा बस्न चाहन्थिन्, त्यसैले रामले छोडिदिए । भगवान् रामले आफ्नी पत्नी सीताको मनको इच्छा पूरा गरिदिएका हुन् ।’

‘आफ्नो पिताको कुरा मानेमा हाम्रो यश कस्तो हुन्छ ? दाजुभाइ कस्तो हुनुपर्छ ? पतिपत्नी कस्तो हुनुपर्छ ? छोरा कस्तो हुनुपर्छ ? यो सबै राम चरित्र मानसमा सरल तरिकाले लेखिएको छ । दर्शकलाई राम चरित्र मानसको कथा राम्रो लाग्छ र यसले उनीहरूको जीवनमा परिवर्तन समेत ल्याएको छ,’ उनले थपे ।

कथा वाचन सुनेर दर्शक आफूभित्रको दुर्गुणको स्वीकारोक्ति वा हटाउन परामर्श लिने गरेको पनि उनी सुनाउँछन् । भन्छन्, ‘मलाई रिस धेरै उठ्छ । यसलाई कसरी रोक्ने ? नशा गर्ने बानी थियो । तर कथा सुनेपछि रोकें । घरमा झगडा हुने गथ्र्यो, सहनशील हुन थालेपछि कम हुन थाल्यो ।’ यस्ता कुरा सुन्दा कथा वाचन गर्न उनलाई अझ प्रेरणा मिल्ने गरेको छ ।

उनको भनाइमा मानिसभित्र लोभ, रिस, घृणा हुनु स्वभाविक हो । किनभने यो कलियुग हो । त्यसैले मानिसमा ‘तिमीमा यो कमी रहेछ, सुधार’ भन्दा रिसाउन सक्छन् । तर यो कथा सुनेपछि मानिस आफैं प्रेरित हुन्छ आफूलाई सुधार्न ।

राम चरित्र मानसमा उनलाई सबैभन्दा राम्रो भरतको चरित्र मनपर्छ । भन्छन्, ‘रामको माहिलो भाइ भरत । उनको माया एकदम धेरै, तर स्वार्थ शून्य । पिताले उनलाई राज्य दिए । उनले आफ्नो दाजुको लागि त्यागिदिए । उनमा अथाह त्याग, प्रेम र सेवा भाव छ । त्यसैले भरत संसारको लागि प्रेरणादायी पात्र हुन सक्छ ।’

रामायणको प्रमुख पात्रमध्ये सीता एक हुन् । गर्भवती भएको बेला रामले सीतालाई जंगलमा छोडिदिएको कहानीले धेरैलाई राम सबै कुरामा योग्य भए पनि पत्नीको मामिलामा चुकेको ठानिन्छ । तर सन्त लाटा यसलाई गलत तथ्य मान्छन् । भन्छन्, ‘रामायणमा सीतालाई अन्याय भएको छैन । सीताको धर्तीमा समय सकिन लागेको थियो । उनी वाल्मीकि आश्रममा बस्न चाहन्थिन्, त्यसैले रामले छोडिदिए । यो सब बनावटी हुन् । भगवान् रामले आफ्नी पत्नी सीताको मनको इच्छा पूरा गरिदिएका हुन् ।’

संसारमा नारी पुरुष दुई भए पनि उनका अनुसार राम र सीता दुई होइनन् । एकै हुन् । एउटै ब्रम्हको दुई भाग हुन् । लीला गर्नको लागि दुई बनेका हुन् । उत्कृष्ट राज्यको परिकल्पना पश्चिम दर्शनमा युटोपिया गरिएको छ भने नेपाल र भारतमा रामराज्यको परिकल्पना गरिन्छ । तर के यो सम्भव छ भनेर उनीसँग जिज्ञासा राख्दा लाटा रामराज्यको मुख्य गुणलाई बुझ्न आवश्यक रहेको औँलयाउँछन् ।

‘रामराज्य आएपछि मानिस सुखी हुन्छ । रामायणमा लेखिएको छ, कोही कसैसँग शत्रुता नराख । कोही कसैसँग ठूलोसानो व्यवहार नगर । त्यस्तो त हुन सक्दैन । तर त्यस्तो भएमा राष्ट्रराष्ट्र, प्रान्तप्रान्त र भाइभाइमा वैर भएन भने रामराज्य आएन त । सबै छोडेर जानुपर्छ, वैर किन र कोसँग यो बुझ्न जरुरी छ,’ उनले भने ।

राम कथालाई आर्दश मान्ने सन्त लाटाका अनुसार राम चरित्रमा भगवान् रामले कुन समय के गर्नुपर्छ भनेर अर्ती दिएर लेखिएको छ । रामले सबै कुरा मर्यादाभित्र रहेर गरेका छन् ।  भगवान् राम काल्पनिक हुन् या यथार्थ भन्ने जिज्ञासामा उनी उल्टै प्रश्न गर्छन्, ‘मानिसले जे पनि सोच्न सक्छ । बाबुआमा वृद्धाश्रम छोड्नेलाई भगवान् छ छैन, मान्दा नमान्दा के फरक पर्छ ?’

सन् २०१४ मा भारतीय जनता पार्टीबाट नरेन्द्र मोदी भारतको सत्तामा राज गर्न सुरु गरेदेखि भारतलाई हिन्दु राष्ट्रको नाममा चिनाउन जोडतोडले लागिरहेका छन् । भारतको हिन्दु राष्ट्र हुने अभिप्रायमा सन्त लाटा भन्छन्, ‘भारतमा हिन्दुको बाहुल्य छ । भारत रामको जन्मभूमि, कर्मभूमि । पार्टीको कुरा मात्र होइन । पार्टी त अहिले आएको हो ।’

‘हाम्रो संस्कार थियो, सायद नेपालमा नि होला । आपसमा भेट्दा रामराम भनिन्थ्यो, म सानो छँदा । आजजस्तो हाईहेल्लो होइन । नचिनेको मानिससँग कुरा गर्दा रामराम भन्दै सुरु हुन्थ्यो,’उनले थपे,‘त्यसैले रामको अर्थ दशरथको छोरा मात्र होइन, रामको अर्थ हामीभित्र जो बोलिरहेछ, चलिरहन्छ, हामीभित्र जसको सत्ता छ, उही राम हो । आदि शंकराचार्यले भन्नुभएको छ, तपाईको आत्मा नै राम हो, चाहे त्यो अमेरिकाको होस्, चाहे अफ्रिकाको । अनि शान्ति चाहिँ सीता ।’

लाटा धर्मलाई पुलको रूपमा लिन्छन् । ‘नेपाल र भारतबीच अभिन्न सम्बन्ध छ,’ उनले भने, भारतमा रहेका शंकर भगवान्का भक्त नेपालको पशुपतिनाथको दर्शन नगरेसम्म पूरा हुँदैन भनेर हाम्रो गुरु शंकाराचार्यले भन्नुहुन्थ्यो । नेपाली भक्तहरू भारतको काशी, रामेश्वरम् दर्शन गर्न आउँछन् । धर्म एकताको प्रतीक हो ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २१:३५
समसामयिक
Weather Update