काठमाडौं— अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलो नियन्त्रणमा चम्किलो पिंक पाउडर प्रयोग गरिएको छ । विभिन्न सञ्चार माध्यमहरूले विमानबाट पिंक पाउडर प्रयोग गरिएका तस्बिर तथा दृश्यहरू सार्वजनिक गरेका छन् ।
सहरको विभिन्न क्षेत्रहरूमा पिंक पाउडर छरिएको पाइन्छ । अधिकारीहरूका अनुसार गत साता हजारौँ ग्यालन पिंक पाउडर सहरमा छरिएको थियो । आखिर यो पिंक पाउडर के हो त ? कतिपयमा यसले कसरी डढेलो नियन्त्रणमा सहयोग गर्छ भन्ने चासो पनि उत्पन्न गरेको छ । खासमा आगो नियन्त्रणमा प्रयोग गरिएको पिंक पाउडरको नाम ‘फोस चेक’ हो । यो पाउडर ‘पेरिमिटर’ नामक कम्पनीले बिक्री गरेको थियो ।
अमेरिकामा सन् १९६३ देखि आगो नियन्त्रण गर्न फोस चेक प्रयोग गरिँदै आएको छ । फोस चेक मुख्य आगो नियन्त्रकका रुपमा क्यालिफोर्नियाको वन तथा अग्नि नियन्त्रण विभागद्वारा प्रयोग गरिने गरिएको छ । सन् २०२२ मा प्रकाशित एसोसिएटेड प्रेसको रिपोर्टअनुसार फोस चेक विश्वमै सबैभन्दा धेरै प्रयोग हुने आगो नियन्त्रण गर्ने पदार्थ हो ।
फोस चेकको प्रयोग आगो फैलिन नदिन वनस्पति र आगो लाग्ने जोखिम भएको ठाउँमा गरिन्छ । अमेरिकी वन सेवाका अनुसार फोस चेकले जमिनलाई चिसो पार्छ आगो फैलिने गति कम गर्छ । कम्पनीले फोस चेकमा के-के प्रयोग गरिएको छ भन्ने सार्वजनिक गरेको छैन । यद्यपि यसमा ८० प्रतिशत पानी, १४ प्रतिशत नुन, ६ प्रतिशत रंग दिने र खियाउन रोक्ने पदार्थ प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
अग्नि नियन्त्रकहरूलाई देखियोस् भन्ने मनसायले चहकिलो रंग प्रयोग गरिएको कम्पनीले बताएको छ । यो रंग केही दिनसम्म घाममा परेपछि माटोको प्राकृतिक रंगमा परिणत हुन्छ । यद्यपि कम्पनीले पाउडर सकेसम्म छिटो सफा गर्न सुझाव दिएको छ । लामो समयसम्म फोस चेक सुक्यो भने पूर्ण रूपमा हटाउन गाह्रो हुने कम्पनीले उल्लेख गरेको छ ।
तातो पानी र साधारण डिटर्जेन्टको प्रयोग गरेर थोरै क्षेत्रहरूबाट फोस चेक हटाउन सकिन्छ । ठूला क्षेत्रहरूमा रंग हटाउन ‘प्रेसर वाशर’ प्रयोग गर्न सकिने कम्पनीको सुझाव छ । तर विगतमा फोस चेकको प्रयोग विवादमा पनि आएको थियो । यो पाउडर वातावरणलाई हानिकारक हुने तर्क पनि सतहमा आएका छन् ।