काठमाडौं—इजरायल र हमास युद्धविरामको सम्झौता नजिक पुगेका छन् । मध्यस्थकर्ता राखेर हमास र इजरायल कतारको दोहामा वार्ता गर्दै छन् ।
एपीन्यूजले हमास र इजरायलबीच छलफल भइरहेको सम्झौताको ड्राफ्ट नै सार्वजनिक गरेको छ । एपीका अनुसार, युद्धविरामको पहिलो चरण ४२ दिनको हुनेछ । त्यसपछि क्रमश: अरू दुई चरणको युद्धविराम हुनेछ ।
७ अक्टोबर २०२३ मा इजरायलमा हमला गरेको हमासले २५१ जनालाई बन्धक बनाएको थियो । उनीहरूमध्ये १५७ जना रिहा भइसकेका छन् । सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो ।
आठ जना बन्धकको इजरायली सेनाले उद्धार गरेको थियो । हमासको नियन्त्रणमा रहेकामध्येबाट ३७ जना बन्धकको मृत फेला परिसकेका छन् । त्यसैगरी, इजरायली सेनाको आक्रमणमा परेर तीन बन्धकको मृत्यु भएको छ । अहिले हमासको नियन्त्रणमा ९४ जना छन् ।
इजरायली सरकारका अनुसार, यी ९४ जनामध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जनामात्र जीवितै हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि कब्जामा राखेको छ ।
पहिलो चरण (४२ दिन)
- हमासले ३३ बन्धक रिहा गर्नेछ । रिहा हुनेमा महिला, महिला सैनिक, ५० वर्ष माथिका बन्धक हुनेछन् ।
- हमासले रिहा गरेका एक बन्धकको बदलामा इजरायलले ३० जना प्यालेस्टिनी रिहा गर्नेछ । हमासले रिहा गर्ने एक महिला सैनिकको बदलामा ५० जना प्यालेस्टिनी रिहा गर्नेछ ।
- युद्ध रोकिनेछ । इजरायली सैनिक गाजा क्षेत्रका बस्तीबाट पछाडि सरेर गाजाको किनारामा पुग्नेछ ।
- विस्थापित भएका प्यालेस्टिनीहरू घर फर्किन पाउनेछन् । गाजा क्षेत्रमा थप सहायता सामग्री जान दिइनेछ ।
दोस्रो चरण (४२ दिन)
- दिगो शान्तिको घोषणा गरिनेछ ।
- हमासले बाँकी रहेका पुरुष बन्धक (सैनिक र नागरिक) रिहा गर्नेछ । यसको बदलामा इजरायलले कति मान्छे रिहा गर्ने भनेर तय भइसकेको छैन । गाजा क्षेत्रबाट इजरायली सैनिक पूर्णरूपमा बाहिरिनेछ ।
तेस्रो चरण
- हमासको नियन्त्रणमा रहेका बन्धकको शव र इजरायली कब्जामा रहेको प्यालेस्टिनीको शव फिर्ता गरिनेछ ।
- गाजा पुननिर्माण योजना कार्यान्वयन गरिनेछ ।
- गाजा क्षेत्रमा भित्रिन र बाहिरिन बोर्डर क्रसिङ खुला गरिनेछ ।