News Griha :: न्यूजगृह
आरती साहकी सासु रेणुदेवी पक्राउ

धनुषा—आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासु रेणुदेवी साहलाई पक्राउ गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोककी ५५ वर्षीया साहलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए।

आरती साहको हत्या मुद्दामा सासु रेणु फरार प्रतिवादी थिइन्। प्रहरीले यही मुद्दामा आरतीका देवर रवि साहलाई पनि फागुन २३ मा पक्राउ गरेको थियो। आरतीका श्रीमान मोतीबाबु भने हाल पुर्पक्षका लागि थुनामा छन्।

गत ७ जेठमा जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती घरमै मृत अवस्थामा भेटिएकी थिइन्। आरतीका बाबुआमाले भने दाइजोका कारण परिवारकै सदस्यको संलग्नतामा हत्या भएको दाबी गर्दै सासु, ससुरा, श्रीमान, देवरलगायतविरुद्ध जाहेरी दिएको थियो।

सुरुमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा श्रीमान मोतीबाबु र ससुरा मदनमोहनमाथि कर्तव्यज्यान मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले उनीहरूलाई असार ५ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो।

तर जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै उच्च अदालत जनकपुरले उनीहरूलाई तारेखमा छाड्न आदेश दिएको थियो।
आरती साहको बाबु, आमा र भाइबहिनीले काठमाडौंमा लामो समयसम्म यो घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए।

पछि सर्वोच्च अदालतले भने श्रीमान मोतीबाबुलाई थुनामा राख्न र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो।

आन्दोलनरत आरती साहकी माइतीपक्ष सँग केही दिन अघि गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत घटनाको पुन अनुसन्धान गर्ने लगायतको ५ बुँदे सहमति गरेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  २०:०८
Weather Update