मकवानपुर— हेटौंडा उपमहानगरपालिका–११ सरस्वती चोकबाट अवैध लागूऔषध २३ किलो गाँजासहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर, कैलास गाउँपालिका–१० नामटार घर भई हेटौंडा उपमहानगरपालिका –१९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया सर्मिला भोलन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार दुवै जनालाई गाँजासहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै कास्की रुपन्देही लगायतका जिल्लाबाट पनि प्रहरीले शनिबार झन्डै पाँच किलो परिमाण गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका–१२ संगमटोल बस्ने २६ वर्षीय दिपेश नेपाली र स्याङजा घर भई पोखरा महानगरपालिका–९ नागढुङ्गा बस्ने २० वर्षीय सागर नेपालीलाई पनि करिब तीन किलोसहित शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले दिपेशको घरमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेको थियो ।
शनिबार नै रूपन्देही, बुटवल उपमहानगरपालिका १३ बदेलपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित पाल्पा रिब्दिकोट गाउँपालिका–५ बस्ने मोहन रेग्मी समेत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार राति इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । लु.२ च ६१८४ नम्बरको पिकअप जिपलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित जिपमा सवार तीन जनालाई पक्राउ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।