
भक्तपुर— भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका दुई जना कामदार पुरिए । उनीहरूकाे उद्धार भइसकेकाे छ ।
सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको बस्तीमा काम भइरहँदा उनीहरू पुरिएका थिए ।
साँझ चार बजेपछि भएको घटनामा परेका उनीहरूको उद्धार कार्य गरिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए ।
उनीहरूमध्ये सुनसरी गढी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षीय सियाराम सदालाईको साढे पाँच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगेको केसीले जनाए ।
केसीकाे भनाइमा उनी बोल्न सक्ने अवस्थामा छन् । सोही स्थानमा घर भई हाल बालकोटमै बस्ने वर्ष २२ को नितेश सदाको उद्धार कार्य जारी रहेको एसपी केसीले जनाए ।
निजहरूलाई काममा लगाउने सुनसरी गढी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना संचालन गरी बस्ने ४६ वर्षीय रामदेव यादव एकासी बेहोस् भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनी सुगर प्रेशरको रोगी भएको पनि जनाइएको छ ।