News Griha :: न्यूजगृह
भागीरथी बलात्कारपछि हत्या घटनामा आधारित नाटक ‘भागु’ सर्वोत्कृष्ट

काठमाडौं— राष्ट्रिय बाल नाटक मेला २०८० को सर्वोत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ।

उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित नाटक ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार जितेको हो।

नाटक मेलाको समापन समारोहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन्।

भक्तपुरको निष्ट स्कुलले तयार पारेको नाटक ‘भागु’ सुदूरपश्चिमको बैतडीमा भएको भागीरथी बलात्कार तथा हत्याकाण्डको सत्य कथामा आधारित छ। भागीरथीको न्यायको लागि लडिरहेको र छोरीको सुरक्षाको कुरा नाटकले उठाएको थियो।

नाटकमा रुमानी रोकाया, ट्रेजा ढकाल, सुजन पहाडी, रेबिसा श्रेष्ठ, अपेक्षा अधिकारी, जिभिका खतिवडा, कृषा नेपाल, श्रीयम भट्टराई, आर्जन अधिकारी, स्यारोन कटुवाल, रिदम रावत, सौर्य शाह, अग्रिम थापाले अभिनय गरेका थिए। नाटक पुष्पराज अवस्थीले लेखेका हुन् ।

गत फागुन १८ गते उद्घाटन भएको प्रतियोगितात्मक मेलामा १० वटा विभिन्न नाटक मञ्चन भएका थिए।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १९:२८
Weather Update