सुन तस्करी प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोप लागेका सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए

काठमाडौं— केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत दुई जना डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ।
डीएसपी रुगम बहादुर कुँवर र दुर्गा दाहाललाई प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।
उनीहरूमाथि ६० किलो र विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करीमा त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको जाँचबुझ निष्कर्ष छ।
सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको भन्दै आयोगले एआईजी किरण बज्राचार्यलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १८:१५













