
काठमाडौं— नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करण मनाइरहेको छ।
राष्ट्रिय सभा गृहमा जारी संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर आयोजकले छलफल र अन्तरक्रिया गरिरहेको छ।
यही सन्दर्भमा शुक्रबार नेपाली सिने क्षेत्रका हस्ती महानायक राजेश हमाल र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सिनेमा संवाद’ शीर्षकमा झण्डै डेढ घण्टा संवाद गरेका छन्। सोही संवादको सम्पादित अंश पढ्नुहोस्
जीवन यथार्थ हो, समाज यथार्थ हो। अवस्था जे छ त्यो यथार्थ हो। कला परिकल्पना हो, कथा हो। कथा र कला अभिनय गरेर चल्छ। जीवन अभिनय गरेर चल्दैन। फिल्ममा नखाएपनि खाएको अभिनय, प्रेम नभएपनि भएको अभिनय, नलडे पनि लडेको अभिनय, घाइते नभएपनि घाइते भएको अभिनय, नमरे पनि मरेको अभिनय गर्नुपर्छ। वास्तविक जीवनमा त्यस्तो हुँदैन। राजनीतिमा पनि त्यस्तो हुँदैन।
कला एउटा यस्तो झुट हो। किनकि कला पस्किँदा त्यसको सुरुवात नै झुटको खेतीबाट गर्नुपर्दछ। तर यस्तो झुट जसलाई अवलोकन गर्ने मान्छेले आफ्नो सत्यता पत्ता लगाउँछ। कलामा त्यो क्षमता छ। कला क्षमता पनि झुटको खेती नै हो। तर त्यो कलालाई जसले अवलोकन गर्छ, हेर्छ, सुन्छ, हेरेपछि त सत्यता पत्ता लगाउँछ। सिनेमा हेर्दा व्यक्तिलाई लाग्छ यो नाटक हो, झुट हो।
यो धनवान देखिएपनि गरिब छ। तर सिनेमाको सशक्तता के हो भने त्यो हेर्ने व्यक्तिले राम्रोसँग प्रस्तुतिकरण र अभिनय गर्यो भने त्यहाँ देखाइएका भावनामा व्यक्ति बग्न थाल्छ । र त्यो झुटको खेती हो भन्ने थाहा हुँदाहुँदै पनि चलचित्रमा देखाइएका कुराहरू हेरेर उ रुन पनि सक्छ, हाँस्न पनि सक्छ। कहिले दुखेसो पोख्न सक्छ। अर्थात सिनेमाको प्रभाव व्यक्तिगत जीवनमा पर्छ। यसलाई नकार्न सकिदैन।
चलचित्र नै झुट होइन तर कथा र अभिनय झुट हुन्, कल्पनामा कथा तयार गरिन्छ। महाभारत एउटा कथा हो। महाभारतमा युद्ध त अलि अलि भयो होला। तर त्यो महाकाव्यको यसरी रचना गरिएको छ कि मान्छे युद्ध नै देख्न थाल्छ। अहिले त हिन्दी सिरियल र हिन्दी चलचित्रले चिन्ने बनाइसक्यो। यसैपनि मान्छे हिजो पनि कृष्णको कल्पना गर्थे। हिजो सिनेमा बनेका थिएनन्।
अहिले रामको अभिनय गरेका कलाकार बजारमा निस्किँदा मान्छेहरू उनको पाउँ समाउँछन्। यो कलाको सफलता बाहेक केही होइन। त्यसकारण कला यथार्थ वर्णन र यथार्थ चित्रण होइन र पनि कला झुट होइन ? कथा झुट होइन परिकल्पना हो।
झट्ट हेर्दा मानवीय समाज होस् अथवा राजनीतिक आइडियोलोजीको समारोह होस् ति सबै माथि कुनै न कुनैमा कथा छ। मानवीय समाज कथाकै आधारमा सङ्गठित भएको छ। त्यसैले कला कल्पना र भावनामा नै आधारित हुन्छ तर राजनीति बौद्धिकता मै चलेको छ।