News Griha :: न्यूजगृह
विमानस्थलमा खटिएका ५४ प्रहरीलाई एकसाथ हटाइयो, एसएलसी पास गरेकाहरू मात्र खटिने
फाइल तस्बिर।

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाइएका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत रहेकाहरूलाई एकसाथ हटाएको हो।

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उनीहरूलाई हटाएर नयाँ टोली पठाइसकिएको बताए।

जिम्मेवारीबाट हटाइएका प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मका कर्मचारी हुन। थप ५० बढी प्रहरीसमेत लामो समयदेखि त्यहीँ कार्यरत रहेको भएपनि हटाइएको छैन। 

‘उनीहरु स्क्रिनिङमा खटिएका छन्,’ एआईजी थापाले भने, ‘उनीहरूलाई पनि क्रमश: रिप्लेस गर्ने छौं।’

विमानस्थलमा लामो समयदेखि खटिएका तल्लो तहका प्रहरी अधिकृतहरू अवैध काममा सक्रिय भएको आरोप लाग्ने गर्छ।

‘नयाँ टोली पठाउँदा पढाइलाई पनि आधार बनाएका छौं, अब कम्तिमा एसएलसी पास गरेकाहरू विमानस्थलमा खटिनेछन्,’ एआईजी थापाले भने।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २१:१७
Weather Update