News Griha :: न्यूजगृह
बालेनलाई पक्राउ गर्ने प्रधानमन्त्री र गृहमन्त्रीको योजना कसरी विफल भएको थियो ?

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन पटक पटक चर्चामा आउने गर्छन्। स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाको मेयर बन्नु नै उनको सर्वाधिक चर्चाको विषय भयो। त्यसमा पनि उनको काम गर्ने शैली, सार्वजनिक रुपमा कम बोल्ने र आफ्ना धारणा सामाजिक सञ्जालमा खुलस्त राख्ने बानीका कारण पनि बालेनको धेरै चर्चा हुन्छ। 

आज फेरि तीनै बालेन फरक प्रसंगले चर्चामा छन्। यो चर्चा भने उनी आफूले गरेका कुनै कामले होइन्। सरकारले उनलाई कस्तो नजरले हेरेको छ भन्ने खुलासाका कारण चर्चामा छन्। बालेनलाई आज सामाजिक सञ्जाल र न्यूज पोर्टलमा चर्चामा ल्याउन जनमत पार्टीका अध्यक्ष सीके राउतले भूमिका खेले। 

कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममा राउतले प्रधानमन्त्री पुष्पकमल दाहालले बालेनलाई पक्राउ गर्न सबै सुरक्षा निकायसँग छलफल गरेको विषय खुलाए। 

विगतमा भएको एक गोप्य बैठकबारे खुलासा गर्दै राउतले कार्यक्रममा भनेका छन्, ‘बडो गोप्य तरिकाले बैठक बसेको थियो। के किन भयो एजेण्डा केही पनि थाहा छैन। हामी गयौँ। त्यहाँ प्रधानसेनापतिदेखि प्रहरी प्रमुख तथा उपत्यकाका तीनै जिल्लाका सीडीओहरू सबै थिए। त्यहाँ के रहेछ भन्दा हाम्रो काठमाडौं महानगरपालिकाको मेयर ज्यूले एउटा स्टाटस लेख्नुभएको रहेछ। त्यही भएर पक्राउ गरौँ कि भनेर त्यहाँ छलफल भएको रहेछ। त्यो बेला सम्माननीय प्रधानमन्त्री ज्यूले मलाई सोध्नुभयो के गर्ने भनेर, हामी चोरै हौँ त ? हामीलाई यसो भन्ने ? पक्राउ त जसरी पनि गर्नै पर्छ।’

राउतले बालेनलाई पक्राउ गर्न प्रधानमन्त्रीमात्र होइन तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि त्यही रुपमा तयार भएको सुनाए। 

बैठकको मिति राउतले नखुलाए पनि त्यो तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रधानसेनापति, प्रहरी प्रमुखको बैठक भदौको हुनुपर्छ। त्यसबेला बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘आजको लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ यो स्टाटस अहिले भने बालेनको फेसबुक वालमा भेटिँदैन। उनले बेला बेला सरकारलाई चेतावनीपूर्ण अभिव्यक्ति चाहिँ दिँदै आएका छन्। 

प्रधानमन्त्री र गृहमन्त्री जसरी पनि बालेनलाई पक्राउ गर्नुपर्छ भन्नेमा अडिग रहँदा राउत आफैँले पक्राउ गर्नु हुँदैन भनेको र उनलाई समर्थनसहित लोकतन्त्रमा बोल्दैमा पक्राउ गर्नुहुँदैन भन्दै कांग्रेस सभापतिले भनेको राउतले बताए। 

कार्यक्रममा उनले भनेका छन्, ‘प्रधानमन्त्रीले जसरी पनि पक्राउ त गर्नै पर्छ भनेपछि मैले भने—कुनै पनि हालतमा उहाँलाई पक्राउ गर्नु हुँदैन। उहाँको पोस्टमा सवालाख जति कमेन्ट आएको छ। त्यसमा ९५ प्रतिशतजति उहाँको पक्षमा छ। सबै सरकारको विपक्षमा कमेन्ट आएका छन्। उहाँलाई कुनै पनि हालतमा पक्राउ गर्नुँ हुँदैन भने। मलाई समर्थन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भन्नुभएको थियो। लोकतन्त्रमा बोल्न पाउँछ। बोल्दैमा सिंहदरबार भत्काइहाल्ने त होइन भन्नुभएको थियो।’ 

सरकार लोकतन्त्रप्रति कति प्रतिबद्ध छ यसको फेहरिस्ता भन्छु भन्दै राउतले वर्तमान सरकारले प्रतिष्पर्धीलाई विभिन्न मुद्धा लगाएर फसाउने गरेको आरोप लगाए। संसदमै प्रधानमन्त्रीलाई बढी प्रश्न गरेपछि सांसदलाई जेल हालिदिएको आरोप लगाए। कार्यक्रममा उनले सरकार जनताप्रति उत्तरदायी नभएको र सत्ताकै लागि दौडधुपमा रहेकाले आफूहरू सामेल नभएको बताएका छन्। 

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०८:०६
Weather Update