News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
तीतो सत्य ओकल्ने ‘अराजक’ बालेन
तस्बिर : काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहकाे फेसबुक पेजबाट ।

काठमाडौं— बालेनले सार्वजनिक अभिव्यक्ति दिन रोज्ने माध्यम सामाजिक सञ्जाल हो । सार्वजनिक मञ्चहरूमा बालेनको उपस्थिति अत्यधिक कम हुन्छ । 

काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सामाजिक सञ्जालमा व्यक्त गर्ने धारणाहरूका कारण बेलाबखत आलोचना पनि खेप्दै आएका छन् । उनको अभिव्यक्तिलाई लिएर मुलधारका सञ्चार माध्यमहरूले पनि प्रश्न उठाउँदै आएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ भने उनका प्रत्येक अभिव्यक्तिहरू भाइरल हुँदै आएका छन् । धेरैको टिप्पणी छ, ‘बालेनले सही बोल्छन्, तर, उनको शैली भने अलिक अराजक छ ।’

‘अराजक’ बालेनले पछिल्लोपटक पुनः अर्को धारणा आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘भ्रष्टाचार विरुद्धको आन्दोलन ? घर कहाँ हो थाहा छ ? सिधै लगेर बागमतीमाा चोपल्नुस् । यस्तो सडक नाटक धेरै देखि सक्यो हाम्ले । पत्याउदिन म चाहिँ । तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो । सिधै कारबाही गर्न नीति बनाउनलाई हो ।’

Prabhu Bank

शनिबार राति करिब १२ बजेको समयमा बालेनले फेसबुकमा पोस्ट गरेका थिए । नक्कली भुटानी शरणार्थीको पछिल्लो प्रकरणलाई लिएर सडक तातिरहेको बेला बालेनले सोही आन्दोलनमाथि प्रश्न गरेका हुन् । नागरिक स्तरबाट भएको भ्रष्टाचार विरोधी आन्दोलनमा विभिन्न राजनीतिक दल र नेताहरूले ऐक्यबद्धता जनाउँदै सडकमा आउन थालेपछि बालेनको यस्तो टिप्पणी आएको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू सडकमा भइरहेको भ्रष्टाचार विरोधी आन्दोलनमा सहभागी हुँदै आएका छन् । त्यस्तै नेपाली कांग्रेस, एमाले र माओवादीका भातृ संगठनका नेताहरू समेत सो आन्दोलनमा सहभागिता जनाउँदै आवाज चर्को बनाइरहेका छन् । यद्यपि, राजनीतिक तवरबाट कुनै पनि पार्टीले भ्रष्टाचार विरुद्धको आन्दोलनलाई नेतृत्व गरेका भने छैनन् । 

रास्वपाका सभापति रवि लामिछानेले शनिबार मात्रै काठमाडौं नक्सालमा भएको भ्रष्टाचार विरुद्धको आन्दोलनमा सहभागी भएर आफू गृहमन्त्री हुँदा खोलेको फाइल नै अहिलेको सरकारले निरन्तरता दिएको बताएका थिए । साथै उनले रास्वपाको डरले अहिलेको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा यो लेभलको काम गरेको तर्क पेस गरेका थिए । यद्यपि, उनको त्यो भनाइको सर्वत्र आलोचना सुरु भइसकेको छ । त्यही बीच बालेनले पनि आफ्नो फेसबुक वालमा लेख्दै नेताहरूप्रति कडा टिप्पणी गरेका हुन् । जनताले भ्रष्टाचार विरुद्धको नीति बनाउनलाई भोट दिएकोले सडकमा आएर रमिता नगर्न उनले ती नेताहरूलाई सुझाएका छन् । 

२ मे २०२३ मा बालेनले नेताहरूप्रति निकै कडा टिप्पणी गरेका थिए, ‘नयाँ, पुरानो सबै नेताहरू चोर हुन् । कसैलाई देशको माया छैन ।’ उनको यो टिप्पणी सर्वाधिक आलोचित बनेको थियो । सञ्चार माध्यमहरूले पनि बालेनले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने भन्दै दबाब बढाएका थिए । तर, बालेन टसमस भएनन् । अहिलेसम्म पनि उनको यो अभिव्यक्ति फेसबुक वालमा देखिन्छ । 

बालेनले नेताहरूप्रति नै लक्षित गरेर ८ अप्रिल २०२३ मा पनि कडा धारणा सार्वजनिक गरेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ काठमाडौं महानगरका मेयर बालेनको यो अभिव्यक्ति पनि आलोचित बनेको थियो । 

तर, सही भए बालेन  

नेपालीमा एउटा उखान छ, ‘सत्य तीतो हुन्छ ।’ 

मेयरको हैसियत बिर्सेर ‘अराजक’ टिप्पणी गरेको आरोप लाग्ने बालेनका अभिव्यक्तिहरू जति पछि आयो उति सान्दर्भिक हुँदै गएको देखिन्छ । साँच्चिकै सिंहदरबारमा बस्ने नेताहरू अहिले एकपछि अर्को काण्डमा मुछिँदै गएपछि बालेन आफ्नो अभिव्यक्तिमा सही थिए भन्ने कुरा पुष्टि हुन्छ । 

गृहमन्त्रीको हैसियतमै नक्कली शरणार्थी बनाइ अमेरिका लैजाने गिरोहसँग मिलेमतो गरेको आरोपमा कांग्रेस नेता बालकृष्ण खाण अहिले प्रहरी हिरासतमा छन् । पूर्वउपप्रधानमन्त्री समेत रहिसकेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि सोही प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेको छ । 

यही प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको नाम समेत मुछिएको छ । गृहमन्त्रालयकै पूर्वसचिव टेकनारायण पाण्डे पनि यो प्रकरणमा आरोपित भएर प्रहरीको नियन्त्रणमा छन् । कांग्रेस नेता तथा दोस्रो संविधान सभा सदस्य आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । हालसम्म यो प्रकरणमा १२ जना पक्राउ परिसकेका  छन् । अझै दर्जन बढी यो प्रकरणमा मुछिएका प्रभावशाली व्यक्तिहरू अनुसन्धानको घेरामा छन् । 

यसले स्पष्ट के संकेत गर्छ भने सिंहदरबारभित्र भ्रष्टाचारको डंगुर छ । भ्रष्टाचार गर्ने सबै नेताहरूलाई बालेनले फोहोरसँग तुलना गरेर सिसडोलमा लगेर डम्प गर्नुपर्ने भन्दै राखेको धारणा अहिले आएर असान्दर्भिक देखिँदैन । 

बालेनले नयाँ राजनीतिक दलका नेताहरूलाई पनि चोरको उपमा दिएका छन् । केही प्रसंगले उनको यो भनाइलाई पनि सही साबित गरेका छन् । केही समय अगाडि मात्रै रास्वपा नेता ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाँईसँग २ करोड रुपैयाँ घुस मागेको अडिओ सार्वजनिक भएपछि बालेन यसमा पनि सही छन् भन्ने तर्क गर्न थालिएको छ । त्यस्तै रास्वपा सभापति रवि लामिछानेले पनि हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले देखाएको ‘पर्फमेन्स’को ‘क्रेडिट’ आफूले लिन खोज्नुले नयाँ नेताहरूमा पनि पुरानै नेताको शैली दोहोरिएको देखिन्छ । 

आफूलाई मनमा लागेको कुरा कडा रूपमा सामाजिक सञ्जालमार्फत भन्दै आएका बालेनले अब कुन विषयमा कसरी धारणा राख्छन् ? भन्ने कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको लागि पर्खाइको विषय बनेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १३:०४
sagarmatha cementsagarmatha cement
Weather Update