
काठमाडौं— मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै छ । २ वैशाखमा मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलो पानी लगाउने गर्दछन् ।
यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुने बित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ । होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलो पानी दलिन्छ । जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत छ ।
पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एक अर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्दथे । अचेल यो परम्परा लोप हुँदै गइरहेको छ ।
मिथिलाञ्चलको जुडशीतललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाको पहलमा जनकपुरधाममा मनाइँदै आएको छ । जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा सेभ हिस्टोरिकल जनकपुरधामको अगुवाइमा केही वर्ष यतादेखि जुडशीतल पर्वको आयोजना गर्ने गरिन्छ ।
पछिल्लो समय युवा पुस्तामा मिथिला क्षेत्रमा पनि जुडशीतलको महत्त्व बिस्तारै कम हुँदै गरेको स्थानीयहरू बताउँछन् । शरीरमा हिलो र पानी हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू नलाग्ने विश्वास छ । गर्मी याममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्यून हुने गरेको विशेषज्ञहरू बताउँछन् ।
यसअघि बिहीबार मिथिलाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा रहेको सतुवाईन पर्व मनाइएको छ । पर्वको अवसरमा घरघरमासतु खाने तथा दान गर्ने चलन रहेको छ ।
घरका देवीदेवतालाई प्रसादका रुपमा सातु अर्पण गर्ने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गर्छन् । चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ ।













