News Griha :: न्यूजगृह
चिनियाँ पेस्तोल ‘टाइप-५४’ बाट गोली लागेको थियो वर्षमानकी आमालाई

काठमाडौं— माओवादी नेता वर्षमान पुनकी आमामाथि टाइप-५४’ पेस्तोलबाट गोली लागेको खुल्न आएको छ ।

नयाँ वर्षको सन्दर्भमा पारिवारिक जमघटका क्रममा गैरीधारास्थित घरमा भेला भएको बेला शुक्रबार राती नेता पुनकी आमा तीर्थमालीको खुट्टामा गोली लागेको थियो । प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप-५४’ बरामद गरेको छ । 

तीर्थमालीकाे नाति पर्ने प्रहरी सहायक हवल्दार प्रकाश पुनको पेस्तोल जमघटका क्रममा पड्केको थियो । प्रहरीले हवल्दार पुनलाई पक्राउ गरेको छ तर अहिलेसम्म घटना नियतवश हो वा असावधानीवश भन्नेबारे स्पष्ट पारेको छैन । 

कायममुकायम प्रधानन्यायाधीशको सुरक्षामा खटिने पछुवा गाडीमा हिँड्ने सहायक हवल्दार प्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएर नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा राखेको छ । चिनियाँ ‘टाइप-५४’ पेस्तोल भीआईपी सुरक्षामा खटिने प्रहरीहरूले प्रयोग गर्दै आएका छन् । 

सामान्य अवस्थामा सहायक हवल्दारले पेस्तोल बोक्न पाउँदैनन् । तर भिआइपीको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूले भने स्थायी रूपमै पेस्तोल बोक्न दिने गरिएको छ । 

घटनापछि आफन्तले दिएको पहिचानको आधारमा प्रहरीले वागडोलस्थित डेराबाट उनलाई पक्राउ गरेको जनाएको छ । 

कायम मुकायम प्रधानन्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार पुन मगर गएराति नयाँ वर्ष मनाउन ७४ वर्षीया तीर्थमालीको निवासमा गएका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ११:५७
Weather Update