
काठमाडौं— आदिकवि भानुभक्त आचार्यले ‘आलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन् । उनले कान्तिपुर अर्थात् अहिलेको काठमाडौंप्रति मोहित भएरै त्यो कविता लेखेका थिए । वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ ।
धुँवाधुलो र प्रदूषण छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनमा रंगीचंगी फूल र हरियालीले संघीय राजधानी काठमाडौंलाई मनमोहक बनाएको छ । काठमाडौं उपत्यकाका सडक किनारमा फुलेका फूलहरूले जो कोहीलाई पनि मोहित पार्छ ।
डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले ।
बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेँली ।
गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।।
राष्ट्रकवि स्व.माधवप्रसाद घिमिरेको यो वैशाख कविताको अंशले काठमाडौंको वैशाखको फूलैफूलको शहरलाई चरितार्थ गर्छ । नदीका किनार, सडकका छेउ, घरका प्रवेशद्वार, मठ मन्दिर जताततै फूलैफूलले ढाकेको छ ।
वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु । शिशिर र गृष्मबीचको यो ऋतुलाई ऋतुराज पनि भनिन्छ । काठमाडौंका सडक र किनारमा सवारी र पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन् ।
अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फूलहरूले झनै सौन्दर्य बढाउँछ । वसन्त ऋतुको सुरुआत भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ ।
सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यता बढाएको छ । राजधानी काठमाडौंका सडक पेटीमा फुलेका चेरी र आरु फूलको दृश्यले कम आनन्द महसुस हुँदैन ।
सडकमा हिँड्ने यात्रु लोभ लाग्दा फूलहरूसँग रमाइरहेका हुन्छन् । काठमाडौंका सडकहरूमा यतिबेला विभिन्न प्रजातिका फूलहरू फुलेका छन् । यसले पदयात्रीलाई थप आनन्दित बनाएको छ ।
तस्बिरहरू














तस्बिरहरू : न्यूज एजेन्सी नेपाल













