-1708913624.jpg)
काठमाडौं– आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आइतबारदेखि औपचारिक वार्ता सुरू भएको छ। २५ दिनदेखि पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूले शुक्रबारदेखि काठमाडौंमा पनि विरोध प्रदर्शन गरिरहेका छन्।
उनीहरूका मागबारे सुनुवाइ गर्न गृह मन्त्रालयले आइतबार रुद्रप्रसाद पण्डितको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरी मिटरब्याजपीडितलाई वार्ताका लागि बोलाएको थियो। आइतबार बेलुकादेखि नै सरकार र मिटरब्याजपीडितबीच औपचारिक वार्ता सुरु भएको मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले जानकारी दिए।
सरकारले वार्ताका लागि आव्हान गरेपछि पीडितले पनि कुशवाहाकै संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा अंकित खनाल, आदित्य राम, मोहन महत्तो, शिवशंकर महतो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा र राजाराज यादव छन्।
समितिका संयोजक कुशवाहाले आइतबार साँझ ७ बजेदेखि करिब डेढ घण्टा छलफल भएको र सोमबार बिहान ११ बजेदेखि फेरि वार्ता गर्ने तयारी रहेको बताए। पीडितहरुले न्यायिक छानविन आयोग गठन गरेर मिटरब्याजी साहुहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
सरकारी वार्ता टोलीले भने सरकारले यसअघि नै आयोग बनाएर काम गरेको र त्यसअनुसारका बाँकी काम अब प्रशासन र प्रहरीले जिम्मा लिएको बताएका थिए ।
१६ माघमा पूर्वको झापा र पश्चिमको कन्चनपुरबाट एकसाथ पैदल मार्च थालेका पीडितहरुले २४ दिन पैदल हिँडेर काठमाडौं आएपछि शुक्रबारदेखि न्यायको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् ।