News Griha :: न्यूजगृह
दरबारमा पाण्डेको प्रभाव देखेपछि देउवाले भने, ‘त्यो रमेशनाथको फोन ट्याप गर’

काठमाडौं-‘मैले देखेको दरबार’का लेखक पूर्व सैनिक सचिव विवेककुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’को शनिबार लोकार्पण हुँदैछ। ‘मैले देखेको दरबार’बाट राम्रो चर्चा पाएपछि पूर्व सैनिक सचिव शाहले आफू दरबारमा कार्यरत रहँदाको तत्कालीन समय, घटना परिघटनालाई समेटेर संस्मरणात्मक पुस्तकका रुपमा ‘दरबारबाट देखेको नेपाल’ पाठकमाझ ल्याउँदै छन्। उक्त पुस्तकको शनिबार दिउँसो एक कार्यक्रमकाबीच विमोचन गरिँदै छ। 'शाही पार्श्ववर्ती सैनिक' शाहले आफ्नो संस्मरणमा रहेको तत्कालीन समयका विषयवस्तु र घटनालाई विभिन्न भागमा पुस्तकमा समेटेका छन् ।

पुस्तकमा उनले तत्कालीन समयमा पूर्वमन्त्री रमेशनाथ पाण्डेको दरबारभित्र विस्तारित प्रभाव र शाहसँगको आफ्नो सम्बन्धको बारेमा पनि उल्लेख गरेका छन्। ‘प्रभाव विस्तारमा माहिर पाण्डे’ भनेर दरबारमा कार्यरत रहँदा उनीहरू बिचमा सम्बन्ध राम्रो नभएको प्रसङ्गलाई पुस्तकमा उल्लेख गरेका छन्। तत्कालीन समयमा पाण्डेले लेखेका कारण दरबारभित्रका सचिवहरूको जागिर नै धरापमा परेको प्रसङ्गलाई पनि उनले पुस्तकमा अटाएका छन्।

‘उहाँका लेखहरू बारे दरबारका हामी सचिवहरूबीच छलफल हुन्थ्यो। एक पटक उहाँले माओवादीसँग वार्ता गरेको कुरा लेख्नुभयो। त्यतिबेला कतिपय मानिसहरूले ‘माओवादीलाई दरबारले परिचालित गरेको छ’ भनेर टिकाटिप्पणी गरिरहेका थिए। दरबारबाट मनोनीत पाण्डेले त्यस्तो लेखेपछि झन् शङ्का उत्पन्न भयो। पाण्डेले दरबारलाई मुछ्ने गरी लेख लेखेपछि एकदिन दरबारका सचिवहरूबीच कुरा उठ्यो, ‘उहाँले यस्तो लेख्नु हुँदैनथ्यो, यसले दरबारलाई असर पुर्‍याउँछ, अब उहाँले नैतिकताको आधारमा राजीनामा दिनु नै उचित होला,’ पुस्तकमा शाहले उल्लेख गरेका छन्।

तत्कालीन समयमा रेवतीरमण खनाल दरबारका प्रमुख सचिव हुँदादेखि नै दरबारको सचिवालयसँग पाण्डेको एकदमै राम्रो सम्बन्ध रहँदै आएको भन्दै पाण्डेलाई खनालको अघोषित सल्लाहकार रहेको भन्दै शाहले लेखेका छन्, ‘खासगरी, प्रमुख सचिव खनालको अघोषित सल्लाहकार जस्तै हुनु हुँदोरहेछ पाण्डे। खनालसँगको सम्बन्धकै कारण बेलाबेला राजासँग दर्शनभेट पनि पाइरहनु हुँदोरहेछ।’

रेवतीरमण खनाल र दरबारमा बढ्दो प्रभाव देखेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत पाण्डेको फोन ट्याप गर्न निर्देशन दिएको शाहले बताएका छन्।

‘राजाले हटाउनुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एकदिन तत्कालीन प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणालाई भन्नु भएछ, ‘त्यो रमेशनाथको फोन ट्याप गर।’ प्रहरी महानिरीक्षकको आदेशमा पाण्डेको फोन ट्याप भएछ। त्यसमा धेरैजसो कुरा त प्रमुख सचिव खनाल र पाण्डेबीच हुँदोरहेछ भन्ने पत्ता लाग्यो। दुवैबीच फोनवार्ता हुँदा एकपटक मप्रति पाण्डेले अत्यन्तै नराम्रो दृष्टिकोण राख्नुभएको रहेछ।’ पाण्डेको फोन ट्याप भएपछि आफूप्रति नकारात्मक दृष्टिकोण झन् बढाएर लगेको टिप्पणी शाहले आफ्नो संस्करणमा उल्लेख गरेका छन्।

‘एकदिन मलाई प्रहरी महानिरीक्षक राणाले भन्नुभयो, ‘तपाईँप्रति उहाँ पूरै नेगेटिभ हुनुहुँदो रहेछ। हजुरलाई टेप सुनाउँ? ’त्यति भनेपछि मैले त्यो टेप सुनें। मेरो विषयमा पाण्डेले नानाभाँती कुरा गर्नुभएको रहेछ। प्रमुख सचिवसँग कुरा गर्दै उहाँले भन्नुभएछ, ‘... तपाईंको अफिसमाथि बस्ने एकजना छन् नि, युनिफर्म लगाउने सचिव, सबै बिगार्ने उनी नै हुन्।’

त्यो बेला प्रधानमन्त्री देउवाले पाण्डेको फोन ट्यापिङ गर्नुका साथै राष्ट्रिय अनुसन्धान विभागलाईसमेत उनको गतिविधिहरू नियाल्न पनि निर्देशन दिएका थिए। ‘फोन ट्यापिङको विषय मसँग प्रहरी महानिरीक्षक राणाले गर्नुभयो भने उनको गतिविधिहरू नियालिरहेको कुरा चाहिँ विभागका प्रमुख देवीराम शर्माले मलाई बताउनुभयो। शर्माले ‘पाण्डेको ओहदा र प्रतिष्ठाअनुसारको चरित्र नभएको’ सुनाउनुभयो,’ शाहले पुस्तकमा उल्लेख गरेका छन्।

पछि पाण्डेले आफ्नो पुस्तकमा शाहविरुद्ध ‘सैनिक सचिवले माओवादीलाई हतियार बेचेको भनेर लेखेको बताएका छन्। पाण्डेले दरबारभित्र आफ्नो सम्बन्ध राम्रो भएको बताउँन कै लागि नाटक गर्ने गरेको आरोप लगाउँदै लेखक शाहले पाण्डेको स्वभाव पहिलादेखि नै यस्तै खालको भएको र अरू मानिसलाई प्रभाव पार्न आफू राजाको मान्छे भएको देखाउन चाहने र दरबारलाई भँजाएर फाइदा उठाउन निकै माहिर रहेको कडा टिप्पणी गरेका छन्।

तत्कालीन प्रधानमन्त्रीले लोकेन्द्रबहादुर चन्दले नै पाण्डेमाथि निगरानी गर्न लगाएको विवरण उल्लेख गर्दै शाहले पुस्तकमा थप भन्छन्, ‘एकदिन प्रधानमन्त्री चन्दले सुधीरलाई भनेछन् ‘शाहजी, मन्त्री रमेशनाथ पाण्डेले मसँग कुराकानीको क्रममा पटकपटक दरबारबाट फोन आयो, सरकारले कुरा गर्न खोजिबक्सेको छ भन्दै कोठा बाहिर जाने गर्छन्। केही समय पश्चात् मात्र म बसेको कोठामा आउँछन् र साँच्चिकै राजाबाट कुरा गर्न खोजिबक्सेको हो वा उनले मलाई प्रभाव पार्न यस्तो नाटक गर्ने गरेका हुन् ? तपाईँले गोप्य रुपमा पत्ता लाउनु पर्‍यो।

प्रमुख स्वकीय सचिव सुधीर शाहले बालुवाटारमा मन्त्री पाण्डेको आगमन हुँदा उनको गतिविधिको निगरानी गर्न थाले। प्रधानमन्त्री चन्द र मन्त्री पाण्डे अक्सर दक्षिणतर्फको भुइँतलाको ठूलो बैठक कक्षमा मन्त्रणा गर्ने गर्दथे। एकदिन पाण्डे बैठक कक्षबाट बाहिर निस्किएर पश्चिमतर्फको चोक जस्तो खुला ठाउँमा मोबाइलमा कुरा गरिरहेको शाहले लुकेर सुने तर वार्तालापको विषय सुन्न सकेनन्। कुनै अर्को दिन सुन्दा उनले निर्क्योल गरेछन्, पाण्डेको संवाद दरबारका प्रमुख सचिवसँग भैरहेको छ। पाण्डेले प्रमुख सचिवलाई आफू प्रधानमन्त्रीसँग बालुवाटारमा गोप्य वार्तालापमा रहेको र वार्ताको निष्कर्ष पछि अवगत गराउने तथा प्रमुख सचिवबाट केही निर्देशन भए पाउँ भनेर अनुरोध समेत गर्दै रहेछन्। मन्त्री पाण्डे बालुवाटारबाट फर्किएपछि शाहले माथिको विवरणको जानकारी प्रधानमन्त्रीलाई गराए। प्रधानमन्त्रीले आश्चर्य मान्दै भने, ‘मलाई त फेरि पनि सरकारबाट कुरा गर्न चाहिबक्स्यो, म बाहिर गएर कुरा गर्छु भन्दै ढाँटे।’

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १२:१४
Weather Update