News Griha :: न्यूजगृह
सामान्य बन्दै रौतहटको स्थिति, कर्फ्यू खुकुलो बनाउने तयारी
रौतहटमा शुक्रबार भएको झडपको दृश्य

काठमाडौं– मूर्ति विसर्जनको विषयलाई लिएर भएको विवादपछि रौतहटमा जारी गरिएको कर्फ्यू स्थानीय प्रशासनले खुकुलो बनाउने तयारी गरेको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अवस्था सामान्य हुँदै गएकाले कर्फ्यू खुकुलो बनाउने तयारी भइरहेको बताए। 

यद्यपि विवादित विषयको पूर्ण समाधान भएपछि मात्रै पूर्ण रुपमा कर्फ्यू हटाइने प्रजिअ रेग्मीको भनाइ छ। ‘अहिले स्थिति सामान्य बन्दै गएको छ। स्थिति सामान्य बन्दै गएपछि हामीले पनि कर्फ्यू खुकुलो बनाउने तयारी गरेका छौं,’ न्युजगृहसँग कुरा गर्दै प्रजिअ रेग्मीले भने, ‘अहिले स्थितिमा भएको सुधार कर्फ्यूका कारणले मात्रै हो कि वास्तविक रुपमै स्थिति सामान्य बन्दै गएको हो भन्ने कुरा अध्ययन गरिरहेका छौं। वास्तविक रुपमै स्थिति सामान्य बन्ने देखिएपछि कर्फ्यू पूर्ण रुपमा हट्छ।’ 

जिल्लाको ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति विसर्जनको विषयमा दुई समुदाय (हिन्दु र मुस्लिम)बीच विवाद भइ झडप समेत भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।  

विद्यार्थीहरूले सरस्वती पूजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लैजाँदा डिजे बाजाको विषयमा विवाद भएको थियो। विवाद उग्र बन्दै गएपछि दुई समुदायका व्यक्तिहरुबीच झडपको स्थिति सिर्जना भएको थियो। 

स्थिति नियन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ बजदेखि ईशनाथ नगरपालिकाका २, ३, ४, ५, ६ र ७ नम्बर वडामा अर्को आदेश नभए सम्मका लागि कर्फ्यू लागेको थियो। कर्फ्यूको बीचमा नै सर्वपक्षी बैठकले मूर्ति विसर्जन गर्न दिने सहमति गरेपछि मूर्ति भने सेलाइसकिएको छ।  

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १५:१६
Weather Update