झन्डै १ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १ किलो सुनसहित १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्माले जानकारी दिए।
सोमबार राति फ्लाई दुबईको विमानमार्फत दुबईबाट काठमाडौं आएका आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो।
सुनका ३ वटा टुक्रा र्यापरले बेरेर गोजीमा हालेर ल्याएको अवस्थामा गुफरलाई पक्राउ गरिएको एसएसपी शर्माले जानकारी दिए। बरामद भएपछि जोख्दा सुनको कुल तौल ८५५ ग्राम मापन भएको छ।
पक्राउ परेका गुफरलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १२:३९