News Griha :: न्यूजगृह
रौतहटमा उत्पन्न विवादले वीरगञ्जमा कर्फ्यू आदेश जारी

काठमाडौं– पर्सा प्रशासनले जिल्ला सदरमुकाम वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ। रौतहटमा उत्पन्न भएको विवादले वीरगञ्जमा समेत शान्ति भंग हुने स्थिति देखिएपछि कर्फ्यू आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन्। 

सोमबार अपराह्न ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रजिअ भुसालले जानकारी दिएका छन्।

वीरगञ्जको पूर्वमा नगवा चोक (बारा जिल्लाको सीमाना), पश्चिममा तलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमाम मितेर पुल (भन्सार क्षेत्र) भित्रको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। कर्फ्यू आदेश जारी गरिएको क्षेत्रमा अनावश्यक आवत–जावत गर्न, भेला हुन, नारा जुलुश गर्न तथा घेराउ र र्‍याली गर्न पाइने छैन। 

रौतहटको ईशनाथ नगरपालिका–७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयलाई लिएर विवाद हुँदा झडप समेत भएको थियो। सोही विषयलाई लिएर वीरगञ्जमा समेत प्रदर्शन हुन थालेपछि कर्फ्यू आदेश जारी गरिएको हो। 

सरस्वतीको मूर्ति सेलाउने विषयमा विवाद उत्पन्न हुँदा ईशनाथमा दुई समूदायबीच झडप नै भएको थियो। झडपमा केही स्थानीय घाइते भएका थिए। 

रौतहटमा उत्पन्न भएको परिस्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले त्यहाँ पनि कर्फ्यू आदेश जारी गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १७:२२
Weather Update