
चितवन– ५४२ किलोग्राम गाँजासहित चितवनबाट २ जना पक्राउ परेका छन्। प्रहरीले २ वटा ट्रक र ट्रकका चालक र सहचालकलाई गाँजासहित नियन्त्रणमा लिएको हो।
भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले सोमबार बिहान ८ बजेतिर राप्ती नगरपालिका–३ झुरझुरेबाट उनीहरुलाई गाँजा लोड गर्दैगर्दा पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटे गाउपालिका–३ का ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का २५ वर्षीय खुसीराम थारु रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको छेउबाट ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको कन्टेनर (डिब्बा ट्रक) नियन्त्रणमा लिइएको हो। धादिङको मलेखुबाट ना ३ ख ६१२२ नम्बरको ट्रकमा खाली पानीको बोतलभित्र लुकाइछिपाइ ल्याएर कन्टेनर लोड गर्ने क्रममा ३९ पोका गाँजा बरामद गरिएको थियो।
पक्राउ परेका थारु सोही ट्रकका सहचालक र दाहाल कन्टेनरका चालक रहेको उनले जानकारी दिए। ट्रकका चालक भने फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।