
काठमाडौं– ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित काठमाडौंमा विश्व सामाजिक मञ्च २०२४ को सम्मेलन जारी छ। यो सम्मेलनमा विभिन्न ९२ देशका सामाजिक क्षेत्रका काम गर्ने प्रतिनिधि सहभागी छन्।
सम्मेलनमा किनकि विश्व सामाजिक मञ्च-२०२४ का विषयगत विधाका १३ विषयमाथि वृहत छलफल भएको छ।
१. आर्थिक असमानता र आर्थिक न्याय
२. श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखन
३. आदिवासी, जातजाति, काम र वंशका आधारमा गरिने भेदभाव तथा छुवाछूत
४. लैंगिकता, लैंगिक हिंसा र पहिचान
५. भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, उर्जा र प्राकृतिक स्रोत
६. शान्ति, द्वन्द्व, युद्ध, कब्जा, विस्थापन र सुरक्षा
७. शिक्षा, कला र संस्कृति
८. सञ्चार, सामाजिक सञ्जाल र मिडिया (डिजिटल समानता)
९. लोकतन्त्र, मानव अधिकार, अधिनायकवाद, कानून र न्याय
१०. स्वास्थ्य, सामाजिक संरक्षण र समानता
११. जलवायु, पर्यावरण, न्यायोचित रूपान्तरण, वासस्थान र दिगो विकास
१२. महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरू
१३. सामाजिक आन्दोलन, नागरिकको भूमिका र विश्व सामाजिक मञ्चको भविष्य
सम्मेलनका लागि तय भएका यी विषयमा ९२ राष्ट्रबाट आएका प्रतिनिधिका अनुभवसँगै वृहत बहस र अन्तक्रिया भएका छन्।
विश्वलाई नयाँ सोचसहितको दिशा बोध गराउने लक्ष्यसहित जारी सम्मेलनका उपलब्धी अनुकरणीय नै भए पनि व्यवस्थापकीय चुस्तता नहुँदा नेपालमा आयोजना गरिएको विश्व सम्मेलनले दिने सन्देश नकारात्मक हुने टिप्पणी आयोजक भित्र नै उठ्न थालेको छ।
हुन पनि फागुन ३ गतेदेखि ७ गतेसम्मको सम्मेलनका क्रममा भृकुटीमण्डवलाई केन्द्रमा राखेर धेरै कार्यक्रम भए। यी कार्यक्रमको सन्देश र उपायदेहीता के भन्ने भोलिको खोजी विषय हो। तर, सञ्चालित कार्यक्रम कमजोर व्यवस्थापनले कमसल बन्दा व्यवस्थापकीय कमजोरीको सन्देश विश्वमा पुग्छ।
राम्रो कामको प्रचारमा धेरै समय लाग्छ तर कमजोरी छिनमै भाइरल हुन्छ। यस्तो नहोस् भन्नका लागि पटक पटक खबरदारी गरिएपनि त्यस्तो नभएको र नेपालमा भएको विश्व सामाजिक मञ्चको सम्मेलनले सन्तुष्टि नदिएको गुनासो सम्मेलनमा सहभागी नेपालका केही प्रतिनिधिको छ।
अस्तव्यस्त कार्यक्रमस्थल
आइतबार सम्मेलनको महत्त्वपूर्ण दिन थियो। जहाँ विभिन्न शीर्षकमाथि सामूहिक अन्तर्क्रियाको कार्यक्रम राखिएको थियो। यही अन्तर्क्रियाबाट निस्किएको निष्कर्षकै सार संक्षेप सम्मेलनले जारी गर्ने घोषणापत्र हो। तर यो महत्वपूर्ण दिनको कार्यक्रमनै आयोजकको वेवस्ताका कारण अस्तव्यस्त भएको जुरी नेपालकी अध्यक्ष शर्मिला श्रेष्ठले बताइन्।
हुन पनि महिला सशक्तीकरण नेपाल, जुरी नेपाल, चितौन कथेहेरी, नेवा मिसा: दबुको संयुक्त आयोजनामा ‘यौन दुर्व्यवहार न्यूनीकरण’बारे छलफल तथा ‘आत्मसुरक्षा ड्रेमो’ कार्यक्रम आयोजनास्थल भृकुटीमण्डपको गौरीशंकर हल(टेन्ट)मा राखिएको थियो।
जुन कार्यक्रममा लेखक/स्तम्भकार सरिता तिवारी, अधिवक्ता शर्मिला श्रेष्ठ, पत्रकार कृष्ण ज्ञवाली र प्रहरी निरीक्षक मनिषा बुढाथोकी प्यानलिस्ट थिए। रश्मिला प्रजापतिले सञ्चालन गर्ने यो कार्यक्रमको भेन्यू भृकुटीमण्डपको गौरीशंकर हल (टेन्ट) र समय साढे ११ बजे भनिएको थियो।
निर्धारित समयमा निर्धारित स्थानमा कार्यक्रमका लागि तयार हुँदा गौरीशंकर हलमा अर्कै शीर्षकको अन्तर्क्रियाको तयारी पनि भइरहेको थियो। त्यस टेन्टमा निर्धारित समयमै भूमीको प्रयोग सम्बन्धि अन्तर्क्रिया सुरु भएपछि यौन दुर्व्यवहार न्यूनीकरणका विषयमा छलफल गर्ने टोलीले हामी माथि पनि दुर्व्यवहार नै भएको भन्दै आयोजकलाई गुनासो गर्दा गुनासो सुन्नुको साटो व्यानर नै हटाएर अपमान गरेको आरोप लगाएका छन्।
विश्वलाई सकारात्मक सन्देश दिने अभिप्रायका साथ स्वयम्सेवी भूमिकामा खटिँदा भएको हेपाहा प्रवृत्तिले विश्वमा गलत सन्देश जाने देखेर चिन्तित भएको गुनासो उनीहरूको छ।
‘हामीले आफ्नो भनेर कार्यक्रम गर्यौँ। प्रचार त्यस्तै भयो। कार्यक्रमका लागि एउटा भेन्यू र समय भनेर तयार गरेपछि अन्तिम समयमा आएर यहाँ अर्कै कार्यक्रम चल्छ भन्ने गैरजिम्मेवार जवाफ आयोजकले दियो,' निर्धारित ठाउँमा कार्यक्रम सञ्चालन नभएपछि आक्रोसित बनेका प्रतिनिधिले भने, ‘कसले कुन टेन्ट बुकिङ गरेको छ भनेर खोज्दा पनि नदेखाउँने। यो लापरबाहीको पराकाष्टा हो। देशको बेइज्यती हो।’
अधिवक्तासमेत रहेकी प्यानलिस्ट श्रेष्ठले आयोजकको कारणले राम्रो कार्यक्रम भए पनि सुन्ने र सुनाउने वातावरण नै नभएको गुनासो गरिन्। ‘विश्व सम्मेलन सञ्चालन गर्दा नेपालको मिस म्यानेजमेन्ट भयो। यहाँ हामीले गरेको कार्यक्रमको प्रभावकारिता यही मिस म्यानेजमेन्टले गुम्ने भयो। सुन्न सक्ने र सुनाउन सक्ने दुवै अवस्था नहुँदा कसरी कार्यक्रम गर्ने?’ श्रेष्ठले प्रश्न गरिन्। उनले नेपालको यो व्यवस्थापकीय कमजोरीका बारेमा आवाज उठाउनुपर्ने बताइन्। उनले साउण्ड सिस्टमको राम्रो प्रबन्ध मिलाउन नसक्दा कसले के बोल्यो भन्ने नै थाहा नभएको बताइन्।
ठाउँको अलमलपछि भृकुटीमण्डवकै अर्को कक्षमा झण्डै एक घण्टा ढिलो सुरु भएको कार्यक्रममा महिला सशक्तीकरण नेपालकी अध्यक्ष तथा कार्यक्रम सञ्चालनको भूमिकामा रहेकी रश्मिला प्रजापतिले व्यवस्थापनको लापरबाहीले बोल्नै मन नभए पनि संस्थागत जिम्मेवारी बोधकै कारण कार्यक्रम सञ्चालन गर्नुपरेको बताइन्।
त्यसो त कार्यक्रमस्थलमा शौचालयको उचित व्यवस्थापन नभएको, पाहुनालाई कार्यक्रमस्थलबारे प्रभावकारी जानकारी नगराउँदा अन्यौलता छाएको गुनासो धेरै छ।
आयोजकले प्रभावकारी रुपमा कार्यक्रमको जानकारी नदिएको तथा सहभागीहरू नै अन्यौलमा परेको गुनासो बढेको छ। एक सहभागीले भने, ‘कुन ठाउँमा के कार्यक्रम हुँदैछ थाहा छैन। कार्यक्रमस्थलका बारेमा जानकारी दिनुपर्ने दिइएको छ। कुन टेन्टमा के नाम छ खोज्दै हिँड्नुपरेको छ। त्यहाँ लेखिएको टेन्टको नाम पनि नदेखिने छ। म त कार्यक्रम हुने टेन्ट खोज्दाखोज्दै हराएँ। कार्यक्रम सकिएछ।’
धेरै देशका सहभागी भएको कार्यक्रम यहाँ नेपालीमा मात्र सञ्चालन गर्दा प्रतिनिधिले नबुझेको गुनासो उत्तिकै छ। एक कार्यक्रम सञ्चालकले भने, ‘हामीले कार्यक्रम सञ्चालन गरिरहेका थियौँ। एक विदेशी प्रतिनिधि आएर कुन भाषामा भनेर सोधे हामीले नेपाली भन्यौँ। ए भनेर उनी फर्किए। एक घण्टा कार्यक्रम गर्ने समय दिएको छ। यसरी गर भन्ने छैन। पहिले नै भनेको भए हामीले सहभागी अनुकुल हुने गरी कार्यक्रम सञ्चालन गर्थ्यौँ।’
नेपालमा विश्वव्यापी कार्यक्रम सञ्चालन गर्ने आँट गर्ने विदेशमा भएका कार्यक्रम पनि हेरेर त्यहाँको सिको सिक्न पनि सुझाएका छन्।
पाठ सिकौँ, अब सच्च्याऔँ
विश्व सामाजिक मञ्चको राष्ट्रिय आयोजक समितिले भने भृकुटीमण्डवमा टेन्ट तयार पारेर कार्यक्रम सञ्चालन गर्दा साउण्ड सिस्टमको प्रबन्ध मिलाउन नसकेको स्वीकार गरेको छ। एकै पटक धेरै कार्यक्रम गर्नु परेको तथा माइक राख्नै पर्ने अवस्था सिर्जना हुँदा प्रभावकारी ध्वनी सञ्चार नभएको स्वीकारोक्ति आयोजकको छ।
ठूलो कार्यक्रम सञ्चालन गर्दा भएका कमजोरीलाई सच्याएर जाने प्रतिवद्धता जनाउँदै आयोजकले कार्यक्रमका सहभागीबारे अनलाइनबाट गरिएको दर्ता भन्दा भौतिक उपस्थिति बढी भएकाले व्यवस्थापनमा केही कमजोरी भएको जनाएको छ।
यस्ता कमजोरीबाट सिक्दै अबका फोरम थप व्यवस्थित बनाएर जाने आयोजकको भनाइ छ।
९२ राष्ट्रका प्रतिनिधि सम्मिलित विश्व सामाजिक मञ्च २०२४ को विश्व सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न हुनेछ।