
काठमाडौं- यौन दुर्व्यवहार रोक्न स्वयम् व्यक्ति जिम्मेवार बन्नुपर्ने विश्व सामाजिक मञ्च २०२४ अन्तर्गतको एक प्यानल छलफलका सहभागीले बताएका छन्।
विश्व सामाजिक मञ्च २०२४ अन्तर्गत काठमाडौंको भृकुटीमण्डवमा जारी सम्मेलन अन्तरगत आइतबार भएको यौन दुर्व्यवहार न्यूनीकरण विषयक छलफलका सहभागीले दुर्व्यवहार नियन्त्रण गर्न कानूनी निर्माणको दायरा बढाउनुका साथै व्यक्ति व्यक्ति सचेत बन्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
महिला सशक्तीकरण नेपालको संयोजकत्वमा जुरी नेपाल, नेवा: मिसा दवु र चितवन कथेहरीको सहकार्यमा भएको प्यानल छलफलका सहभागीले विगतको तुलनामा सामाजिक रुपान्तरण धेरै भए पनि अझै यौन हिंसाका पीडितले सहज न्याय नपाएको र पीडिकलाई कानूनी दायरमा पुर्याउन चुनौती रहेको बताएका छन्।
प्यानलमा सहजकर्ताका रुपमा सहभागी महिला सशक्तिकरण नेपालकी अध्यक्ष रश्मिला प्रजापतिले नेपालका यौनजन्य हिंसा पीडितलाई कारबाही गर्ने धेरै कानून बने पनि अझै कार्यान्वयनमा चुनौती रहेको बताइन्।
सामाजिक बन्धन तथा मनोवैज्ञानिक त्रासले धेरै पीडितले आफ्नो पीडा खुलाउन नसकेका कारणले पनि पीडक कानूनी दायरामा नआएको बताउँदै प्रजापतिले पछिल्ला वर्षमा अन्यायमा परेकाले न्यायको खोजी गर्दै उजुरी दिने क्रम बढेकाले अब यौन जन्य हिंसा नियन्त्रणमा सहजता आउने विश्वास व्यक्त गरिन्।
सामाजिक, आर्थिक, राजनीतिक तथा मनौवैज्ञानिक कारणले घटना नबाहिरिनर् चुनौतीको सामना गर्दै यौन हिंसामा परेकालाई न्याय दिलाउन र पीडितलाई कानूनी कारबाहीको दायरामा पुर्याउन विश्व सामाजिक मञ्च २०२४ ले भूमिका खेल्ने प्रजापतिको विश्वास छ।
प्यानलिस्ट भूमिकामा रहेको लेखक तथा स्तम्भकार सरिता तिवारीले यौन हिंसालाई एकतर्फीय रुपमा छुट्याएर हेर्न नमिल्ने बताउँदै यसको ऐतिहासिक तथ्यलाई हेर्नुपर्नेमा जोड दिइन।
'महिलामाथि हुने हिंसा तथा यौन हिंसाका घटना किन धेरै किन धेरै?' भन्ने प्रश्न गर्दै तिवारीले भनिन्, 'यसको खोजी गर्न जरुरी छ। नेपालमा संरचनागत रुपले नै महिलालाई विभेद गर्ने परिपार्टी छ। त्यसमा पनि 'यौन हिंसा' हिंसा नै होइन भन्ने भास्य स्थापित भएको छ। पुरुषले हिंसा नै होइन भन्ने तथा महिलाले यो सामान्य हो सहनु पर्छ भन्ने विचारले हिंसा बढेका छन्। यसलाई नियन्त्रण गर्नपर्छ।'
उनले भनिन्,'म आफैँ पनि पीडित हो। मलाई पनि अब यौन हिंसाको विरुद्धमा बोल्नुपर्छ है भन्ने विचार बलियो भएर आउन निक्कै समय लाग्यो। बोल्न थालेपछिको घटना पीडादायी भए पनि पीडकलाई कानूनी कारबाहीको दायरामा पुर्याउँदा धेरै खुसी लाग्ने रहेछ। त्यसैले हिंसा सहने होइन्। हिम्मत गरेर बोल्नुपर्छ। दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।
अधिवक्ता सर्मिला श्रेष्ठ तथा पत्रकार कृष्ण ज्ञवालीले पछिल्लो समय नेपाली समाजमा अन्यायविरुद्ध बोल्नुपर्छ भन्ने सोचको विकासले हिंसाका घटना बाहिर आएको र दोषीले कारबाही भोगेको उदाहरण प्रस्तुत गरेका थिए।
कार्यक्रमका सहभागीले हिंसा पीडित महिलाले आँट साहसका साथ प्रहरीकहाँ उजुरी दिन गए पनि प्रहरीले उजुरी नलिने गरेको, उल्टै निरुत्साहित बनाउने गरेको गुनासो गरेका थिए। सहभागीको गुनासो सुनेपछि प्यानलिस्टकै रुपमा सहभागी प्रहरी निरीक्षक मनिषा बुढाथोकीले महिला हिंसा अन्तर्गतका मुद्दा अन्य विभिन्न शीर्षकमा हेरिने भएकाले तथ्यांकगत रुपमा केही कम भएको देखिन्छ। नेपाल प्रहरी हिंसामुक्त समाज निर्माणका लागि जुटिरहेको भएकाले कुनै पनि कार्यालयले मुद्दा दर्ता गर्न नमाने माथिल्लो निकायमा उजरी गर्न आग्रह गरिन्।
बुढाथोकीले आफ्नो सुरक्षाका लागि केही जिम्मेवार बन्नुपर्ने र प्रतिकार गर्ने आँट गर्नुपर्ने बताइन्। कार्यक्रमका सहभागीले हिंसा तथा भेदभावरहित समाजको निर्माणबाट नै शान्तिसहितको विश्व सम्भव हुने भएकाले महिलाविरुद्धका यौनजन्य हिंसाको नियन्त्रण गर्न विश्व समूदाय एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन्।
कार्यक्रममा महिला सेल्फ डिफेन्स तालिमको 'डेमो'समेत प्रस्तुत गरिएको थियो। पछिल्लो समय महिला हिंसाका घटना दैनिकजसो घटिरहेका छन्। कतै बलात्कार, कतै एसिड आक्रमण, कतै घरेलु हिंसा, कतै हत्या ।
महिला सशक्तीकरण नेपालले ११ वर्षदेखि महिलालाई हिम्मत अनि आत्मरक्षाको तालिम दिइरहेको छ। अप्ठ्यारो परिस्थितिमा हिम्मतका साथ आत्मरक्षा गर्न सीपको आवश्यक रहेको महिला सशक्तीकरण नेपालकी अध्यक्ष रश्मिला प्रजापति बताउँछिन्। ‘शारीरिक र मानसिकरूपमा बलियो बनाउन यस्ता तालिमले सघाउँछ,’ उनले भनिन् । अहिले देशभरि महिला आत्मरक्षा तालिम फैलाउन खोजिरहेको उनी बताउँछिन् ।
तालिमपश्चात आत्मबल बढ्छ?
यस किसिमको तालिम दिलाउन सके शतप्रतिशत बलात्कारका घटना कम हुने प्रजापतिको ठम्याइ छ । ‘यो तालिम लिएको खण्डमा यौनजन्य हिंसाबाट सिकार हुनबाट जोगिन सक्छन्,’ उनी भन्छिन्।