
गोरखा– गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट बरामद बहुमूल्य ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वपक्षीय बैठकले धार्मिक र पर्यटकीय हिसाबले गोरखा दरबारमा राख्न उचित हुने निष्कर्ष निकालेको हो।
शुक्रबार मन्त्रीस्तरको निर्णयको जानकारी आएको र स्थानीय तहको व्यवस्थापनमा आवश्यक सुरक्षासहित उचित स्थानमा संरक्षण गरेर राख्न भनिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
‘उक्त ढुंगा अब गोरखामै राख्ने भन्ने आधिकारिक निर्णयसहित हिजो हामीलाई पत्र आयो। गोरखा दरबार राख्ने कि सङ्ग्रहालय भन्ने विषयमा धेरै अल्झिन हुँदैन भनेर आजै मैले सर्वपक्षीय बैठक बोलाएँ, सबैको सहमतिले गोरखा दरबारमा राख्ने निर्णय गर्यौँ।’
गोरखा दरबार परिसरमा सर्वसाधारणले देख्ने गरी उक्त ढुंगा विशेष सुरक्षाका साथ राखिने उनले जानकारी दिए। आइतबारदेखि नै ढुंगा व्यवस्थापनमा लाग्ने उनले जानकारी दिए। गत असार १४ गते प्रहरीले गोरखा सदरमुकाम नजिकै सतिपीपलस्थित एक घरबाट क्वार्ज क्रिष्टल बरामद गरेको हो। क्वार्ज क्रिष्टल महँगो मूल्यमा किनबेच हुन लागेको सूचनापछि बरामद गरेर ल्याइएको प्रहरीले बताउँदै आएको छ।
गोरखामा भेटिएको ढुङ्गा बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि
टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा
क्वार्ज क्रिष्टल गोरखा दरबारमै राख्ने मन्त्रिपरिषद् बैठककाे निर्णय