
गोरखा— गोरखा नगरपालिका— ७ सतिपिपलस्थित एक घरबाट बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षा सहित राखिएको टल्कने ढुङ्गा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद सहितको टोली गोरखा पुगेको छ ।
स्थानीय सहित विभिन्न सङ्घ संस्थाले बरामद गरेको उक्त टल्कने ढुङ्गा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद सहितको टोली गोरखामै झिकाइएको हो । टल्कने ढुङ्गा परीक्षणका लागि जियोलोजिष्ट डा सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा पुगेका हुन् ।
बरामद गरिएको टल्कने ढुङ्गाको तौल ५४ केजी छ । एकातिरबाट लाइट बाल्दा भित्रैबाट अर्कोतिर उज्यालो वारपार हुने उक्त ढुङ्गा पुर्ख्यौली सम्पत्तिका रुपमा घरमै राखिएको पाइएको थियो ।
प्रहरीले बरामद गरेलगत्तै पनि भूगर्भविद्लाई भिडिओ कल गरेर देखाउँदा विज्ञले उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको हुनसक्न बताएका थिए । ‘क्वार्ज क्रिष्टल’ भए पनि कुन गुणस्तरको भन्ने कुराको परीक्षण गर्न विज्ञको टोली नै गोरखा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।
टल्कने ढुङ्गा वर्षौँदेखि घरमा पूजा गर्दै आएको पाइएपछि उक्त ढुङ्गा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घ संस्थाले माग गर्दै आएका छन् । टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै उक्त शिला गोरखा दरबार परिसरमा प्राणप्रतिष्ठा गरी व्यवस्थापन गर्नुपर्नेमा सङ्घ संस्थाको जोड छ ।
पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अलौकिक प्रकारको बल्ने शीला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने माग स्थानीयको छ ।