
काठमाडौं– अमेरिका पठाउने भन्दै भारतीय नागरिकहरुलाई नेपालको काठमाडौं ल्याएर बन्धक बनाएको पाइएको छ। उनीहरुलाई मेक्सिको हुँदै अमेरिका पुर्याउने भनेर काठमाडौंमा ल्याएर बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ।
काठमाडौंमा बन्धक बनाइएका ११ जना भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ। यस्तै, बन्धक बनाउने गिरोहका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ पर्नेमा भारतीय नागरिकहरु नागरिकमा इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा छन्।
पक्राउ पर्नेमध्ये १ जना नेपाली नागरिक भए पनि प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन। पक्राउ परेका नेपाली नागरिकले उनीहरुलाई कागजात बनाउन सहयोग गरेको प्रहरीले जनाएको छ।
भारतीय नागरिकसँग प्रतिव्यक्ति ४० देखि ४५ लाख भारतीय रुपैयाँ लिएर अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक बनाइएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र खत्रीले जानकारी दिए। बन्धक बनाइएकाहरुलाई मेक्सिको पुर्याएको भनेर परिवारसँग पैसा माग्ने गरिएको समेत प्रहरी अनुसन्धानबाट पक्राउ गरेको छ।
प्रहरीले पक्राउ परेका ७ जनाको साथबाट नक्कली रबर स्टाम्प, बोर्डिङ पास लगायत सामग्री बरामद गरेको छ।